विश्व आदिवासि दिवस ः आन्दोलनको आधार निर्माणका रुपमा मनाउने महासंघको घोषाणा

Wednesday, August 2nd, 2017 |

लक्ष्मण थामी । १८ श्रावण । काठमाण्डौँ । 

नेपाल आदिवासि जनजाति महासंघले आफ्ना माग र मुद्धाहरुप्रति राज्य अनुदार बन्दै गएको निष्कर्ष सहित २३ औँ विश्व आदिवासि दिवसलाई आन्दोलनको आधार निर्माणका रुपमा मनाउने घोषणा गरेको छ ।

अधिकार, प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मुल नारा सहित महासंघले विश्व आदिवासि दिवसलाई आन्दोलनका रुपमा मनाउने योजना बनाएको हो । राजधानीमा बुधवार आयोजित पत्रकार सम्मेलनमा दिवसलाई भव्य बनाउन महासंघ र यससम्बद्ध संघ संगठनहरूले झण्डै दुई हप्तासम्म विविध कार्यक्रम गर्ने जानकारी गराईएको छ ।
संविधान संशोधन मार्फत आदिवासि जनजाति समुदायको पहिचान र अधिकारको सवाललाई सम्बोधन गराउन सडक, सदन लगाएत चौतर्फी एकतावद्ध ढंगले दबाव सिर्जना गर्ने उद्घोष पनि महासंघले गरेको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जगत बरामले पहिचान र अधिकारको वाँकी मुद्धा सम्वोधन गराउन एकताबद्ध भएर नयाँ ढंगको आन्दोलनमा जानुको बिकल्प नदेखिएको बताए ।

महासंघले खासगरी संविधानमा जनजातिका मुलभुत मुद्धाहरु सम्बोधन हुन नसकेको, स्वायत्त क्षेत्र, संरक्षित र विशेष संरक्षित क्षेत्र सम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन नगरेको, विगतका सहमतिहरु पालना नगरेको, अधिकांस आदिवासि समुदायलाई अल्पसंख्यकमा सुचीकरण गरिएको प्रति चर्को विरोध गरेको छ । यस्तै जनजाति आन्दोलनकर्मी, अधिकारकर्मी र राजनीतिकर्मीहरूलाई तथाकथित कानूनको आडमा झुटा मुद्धामा फसाईएको भन्दै टिकापुर लगाएतका आन्दोलनका क्रममा पक्राउ परी जेल जीवन बिताइरहेकाहरूलाई बिना सर्त रिहा गर्न पनि महासंघले जोडदार माग गरेको छ । आदिवासिस जनजातिहरूको विशिष्ट पहिचानमा आधारित प्रदेशहरू, स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरूको स्थापनाका लागि महासंघ निरन्तर संघर्ष गर्ने प्रण समेत गर्दछ, महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

जनजाति आन्दोलनको गम्भिर समिक्षा सहित आदिवासी दिवसको अवसरमा शक्ति प्रदर्शन, आदिवासीय खेलकुद, नृत्य, सांस्कृतिक झाँकी सहितको ¥याली, आदिवासी खाना, आदिवासी चलचित्र र पहिचानजनित ऐतिहासिक, सांस्कृतिक सामग्रीहरूको प्रर्दशनी, मनोरञ्जनको अलवा विश्व आदिवासी आन्दोलन र नेपालको आदिवासी आन्दोलनको अनुभवमा आदिवासी जनजाति संघसंस्थाहरू सञ्चालन सम्बन्धी ऐनको आवश्यकता र विशेषतः नेपालको आदिवासी जनजाति आन्दोलनको समिक्षात्मक खालका अन्तरक्रियात्मक कार्यक्रम÷गोष्ठीहरू आयोजना गरिने महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा महासचिव नित्यानन्द ताजपुरिया, पुर्व अध्यक्ष तथा पदाधिकारीहरुले आदिवासि जनजातिको मुद्धालाई सार्थकता दिन आन्दोलनलाई एकतावद्ध ढंगले उठाउनुको विकल्प नभएको जोड दिए । दिवसलाई भव्य बनाउन महासंघले मुल आयोजक समिति लगाएत विभिन्न उपसमितिहरु निर्माण गरि परिचालन गरेको छ ।

आगामी अगष्ट ९ अर्थात साउन २४ गते विश्वभर २३ औँ विश्व आदिवासि दिवस मनाईदैछ ।

VIEWS: 168