जिल्ला समन्वय समिति दोलखाको नेतृत्वमा पाण्डेको उदय
लक्ष्मण थामी । १८ श्रावण । दोलखा ।
जिल्ला समन्वय समिति दोलखाको नेतृत्व, हाल नेकपा एमालेको जिल्ला कमिटि उपसचिव रहेका डबल पाण्डेले सम्हाल्ने भएका छन् । एमालेले पार्टीको तर्फवाट उपसचिव पाण्डेलाई जिल्ला समन्वय समितिको प्रमुखको उम्मेदवारका रुपमा मनोनयन गरेको हो । एमालेले जिल्ला समन्वय समितिमा पठाउने पदाधिकारी तथा सदस्यको नाम शिफारिस गर्न जिल्ला ईन्चार्ज पार्वत गुरुङको सँयोजकत्वमा जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिव रहेको कार्यदल बनाएको थियो ।
पाण्डेले यहि साउन २४ गते जिल्ला समन्वय समितिका लागि हुने निर्वाचनपछि औपचारिक रुपमा जिसस प्रमुखको जिम्मेवारी प्राप्त गर्नेछन् । १८ सदस्यीय जिल्ला समन्वय समितिमा एमाले निकटका जनप्रतिनिधिहरुको बहुमत रहेकाले उसले पठाउने उम्मेदवार निर्वाचित हुने निश्चित छ । निर्वाचन अधिकृतको कार्यालयले साउन २४ गते विहान १० देखि दिउँसो १२ बजे सम्म समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यहरु चयनका लागि मतदानको समय तोकिसकेको छ । जिल्ला समन्वय समिति चयनका लागि साउन २२ गते मतदाता नामावली प्रकाशन, साउन २३ गते मनोनयन दर्ता र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान तथा साउन २४ गते मतदान गर्ने कार्यतालिका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बनाएको छ ।
जिसस प्रमुखमा अन्य दुई क्रमशः भुवनसिंह थापा र हिरा थोकरले तिव्र आकांक्षा देखाएपनि एमालेले अन्ततः पाण्डेलाई पठाउने निर्णय गरेको हो । स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट पाण्डे कालिञ्चोक गाउँपालिका ६ को सदस्यको रुपमा निर्वाचित भएर आएका हुन् ।
जसअन्तर्गत प्रमुख, उपप्रमुख र ७ जना सदस्य सहित ९ सदस्यीय समन्वय समिति चयनका लागि मतदान हुनेछ । नेतृत्व चयनका लागि नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १८ जनाले मतदानमा भाग लिन पाउने छन् । समन्वय समितिको उपप्रमुखमा जिरी नगरपालिकावाट निर्वाचित वडा सदस्य मनमाया जिरेललाई पठाउने निर्णय पनि एमालेले गरेको छ ।
को हुन् पाण्डे ?
हाल एमाले जिल्ला कमिटि दोलखाको बहालवाला उपसचिव रहेका पाण्डे झण्डै ३४ वर्ष एमालेको संगठित राजनितिमा बिताएका नेता हुन् । कालिन्चोक गाउँपालिका ६ पिलिखेपा निवासि उनले लगभग १५ वर्षको उमेरदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटिवाट राजनितिक यात्रा सुरु गरेका थिए । पार्टी र पार्टीको भगिनी संस्थाको स्थानीय तहको विभिन्न जिम्मेवारी सम्हाल्दै पाण्डे २०४७ सालमा जिल्ला कमिटि सदस्यमा निर्वाचित भए ।
पार्टीको नवौं अधिवेशनवाट जिल्ला पार्टीको उप सचिवमा निर्वाचित भएका उनले हालसम्म कुनै राजनितिक लाभको पद लिएका छैनन् । स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको उम्मेदवारको रुपमा उठ्ने बताईएपनि अन्तिम समयमा छाडेका थिए । पार्टीमा माधव कुमार नेपाल समुहमा उभिने गरेका पाण्डेलाई यो पटक ओली समुह भित्रको पनि जिल्ला ईन्चार्ज गुरुङ पक्षले समर्थन गर्यो ।
नेता कार्यकर्ताहरुमा असन्तुष्टि
एमाले दोलखाकोक पछिल्लो निर्णय प्रक्रिया प्रति भने नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । जिसस नेतृत्वको आकांक्षी भुवनसिंह थापा, हिरा थोकर देखि स्थानीय स्तरका कतिपय एमाले कार्यकर्ताहरुले पार्टीले गरेको निर्णयको चर्को विरोध गरेका छन् । पार्टीका तीन जना सांसद, अध्यक्ष, उपाध्यक्ष र सचिवले मात्रै महत्वपुर्ण निर्णयहरु गर्ने गरेकोमा उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
सर्वसम्मत हुन नदिने काँग्रेस–माओवादीको तयारी
जिल्ला समन्वय समितिमा एमालेको स्पष्ट बहुमत भएपनि काग्रेस, माओवादी केन्द्रले सर्वसम्मत हुन नदिने योजना बनाएका छन् । नगर र गाउँपालिकाको चुनावमा समेत तालमेल गरेका दुई पार्टीले जिसस गठनमा पनि संयुक्त उम्मेदवारी दिने तयारी गरेका हुन् । समन्वय समितिको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिने नेताहरुले बताएका छन् ।