भरतपुर महानगरमा पुनः मतदानको मिति तय गर्न आयोगको निर्देशन, एमालेको असन्तुष्टि
१६ साउन, काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदानको मिति तोक्न निर्देशन दिएको छ ।
वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन आयोगले मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न पनि निेर्दशन दिईएको आयोगले जनाएको छ । भरतपुर १९ को मत गणना चलिरहेका बेला जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना कार्य रोकिएको थियो ।
च्यातिएका मतपत्र बदर गरी बाँकी गणना गर्नु पर्ने माग गर्दै एमाले उम्मेवादरले सर्वोच्चमा दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले आईतवार पुनः मतदान गर्ने आदेश जारी गरेको थियो ।
सर्वोच्चको निर्णयप्रति एमालेको असन्तुष्टि
यता भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गर्नुपर्ने सर्वोच्चको फैसलाप्रति प्रमुख विपक्षी दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।
एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले भरतपुर प्रकरणमा सर्वोच्चको फैसला दुखद रहेको भन्दै विशेष प्रस्ताव पारित गरेको छ । हार्ने भएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेको आरोप लगाउँदै एमालेले पुनः मतगणना हुनु पर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद जनाएको हो ।
एमाले स्थायी समिति बैठकले सर्वोच्च अदालतको फैसलाले जनताको अभिमतको अपमान भएको र गलत नजिर बस्ने ठहर समेत गरेको छ । बैठकले सबै तहको निर्वाचन सम्पन्न नभई संविधान संशोधन प्रस्ताव अघि नबढाउन सरकार र सत्तारुढ दलहरुको ध्यानाकर्षण गराएको सचिव योगेश भट्टराईले जानकारी दिए ।