कोरिया जाने कामदारको सीप परिक्षण २०२० पछि मात्रै

Monday, July 31st, 2017 |

१६ साउन, काठमाडौं । नेपाली कमदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागु गर्ने दक्षिण कोरिया सरकारको योजना एक वर्ष पछि धकेलिएको छ ।
दक्षिण कोरियाले कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने योजना सन् २०१९ देखि लागु गर्ने तयारी गरेको थियो । यद्यपी नेपालले प्राविधिक तयारी गर्न समस्या हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएपछि उक्त योजना कार्यान्वयन एक वर्ष पछि धकेलिने अवस्था आएको हो ।
कोरियाको नयाँ योजना लागु नभए सन् १०१९ सम्म रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरेर नेपाली कामदार कोरिया जान पाउनेछन् । नयाँ प्रणाली लागू भएपछि भने कोरिया जानेहरुले भाषा परीक्षा पनि कम्प्युटरमार्फत नै दिनुपर्ने हुन्छ ।

यस्तो हुन्छ सीप परीक्षण

सीपमा आधारित परीक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनावाई र लेखाइको परीक्षा प्रणाली पूर्ण रुपमा परिबर्तन हुनेछ । अब सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

जस्तो उत्पादनमुलक समूहको स्टिल फिक्सङ समूहमा जाने गरी आवेदन गरेका कामदारले भाषा पास भएपछि सीपको परीक्षा दिनुपर्नेछ । कोरियाले नयाँ अंक प्रणालीमा अब भाषा परीक्षामा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्ने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभारक भण्डारीले जानकारी दिए ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि परीक्षण गर्नेछ । साथै कामदारको सीपको लेभल र कार्य अनुभवका आधारमा पनि अंक दिइनेछ ।

कम्प्युटर प्रणालीबाट परीक्षा

अहिलेसम्मको तयारीअनुसार सन् २०२० देखि ईपीएसमा कागजी परीक्षा प्रणालीसमेत हट्नेछ । पूर्ण रुपमा कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर चलाउन जानेकाहरुले मात्रै दिन सक्छन् । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

भवन तयार गरिँदै

कोरियाले नेपाली युवको सीप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरेअनुसार अहिले ललितपुरको भैँसेपाटीमा नेपाल सरकारले ‘सिभीटी बिल्डिङ’ निर्माण गर्न लागेको छ । यो भवन नबनेसम्म सीप र कम्प्युटरमा आधारित भाषा परीक्षा गर्न नसकिने भएकाले नेपाल सरकारले सन् २०२० बाट मात्रै कोरियाको प्रस्तावअनुसार नयाँ परीक्षा प्रणाली लागु गर्न सकिने बताएको छ ।

VIEWS: 105