एकैपटक दुईओटा निर्वाचन गर्न सकिँदैन ः प्रमुख निर्वाचन आयुक्त
१५ श्रावण । काठमाडौं–प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न नसकिने स्पष्ट पारेका छन् ।
संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक हिसाबले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको उनले बताए । सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्ने तयारी गरिरहेको बेला निर्वाचन आयोगको यस्तो धारणा सार्वजानिक भएको हो । आयोगले निर्वाचन एकैपटक गर्न संविधान र कानुन अनुसारनै नमिल्ने भन्दै
सरकारको ध्यानाकर्षण गराएको छ । व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको आईतबार बसेको बैठकमा बोेल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभाको निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन गराउन मिल्ने अवस्था नरहेको जिकिर गरे ।
निर्वाचन आयोगले यस अघि नै असोज अन्तिम साता प्रदेश सभाको, कार्तिकको तेस्रो साता राष्ट्रिय सभाको र मंसीरको पहिलो साता प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयार पारेको कार्यतालिका सरकारलाई बुझाई सकेको छ ।