जनमुक्ति सेना दिवस ः चीनले गर्यो बिशाल सैन्य प्रदर्शन (फोटोफिचर)
१५ श्रावण । बेइजिङ – चीनले ९० औँ जनमुक्ति सेना स्थापना दिवसको अवसरमा विशाल सैन्य शक्ति प्रदर्शन गरेको छ ।
छिमेकी मुलुक भारतसँग सीमाको विषयलाई लिएर तनाव बढिरहेका बेला चीनले सैन्य शक्ति प्रदर्शन गरेको हो । सैन्य प्रदर्शन भित्री मंगोलियाको प्रशिक्षण बेसमा गरिएको थियो ।
चीनको रक्षामन्त्रालयले भने नियमित बार्षिक कार्यक्रम अनुसार यो प्रदर्शन गरिएको जनाएको छ ।
केन्द्रिय सैन्य आयोगका अध्यक्ष समेत रहेका चिनिया राष्ट्रपति सी जिनपिङले आइतबार बिहान झुरिहे कम्बाइन्ड ट्याक्टिस ट्रेनिस बेसमा गरिएको उक्त प्रदर्शनको अवलोकन गरेका छन् ।
पिएलएको सबैभन्दा आधुनिक तथा एसियाकै सबैभन्दा ठूलो क्याम्पमा सैन्य परेड गरिएको यो पहिलो पटक रहेको चिनिया संचारमाध्यमले जनाएका छन् । प्रदर्शनमा करिब १२ हजार सैनिक तथा ६ सयभन्दा बढी सैन्य हतियार तथा मिसाइल र १ सयभन्दा बढी प्रकारका जहाजहरुको पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले जनमुक्ति सेना विश्वकै उत्कृष्ठ सैन्य शक्तिको रुपमा सुसज्जित हुँदै गएको वताए । उनले चीनको सीमाभित्र घुसपैठ गर्न खोज्ने शक्तिसँग मुकाबिला गर्न चीन पुर्ण रुपमा सक्षम रहेको समेत बताए ।