फुटपाथमै व्यापार गरेर महिलाहरु बन्दैछन् लखपति, फुटपाथमै हुन्छ अफिसरको जति कमाई
रोलिना चौलागाई
१५ , श्रावण । काठमाण्डौँ । देशले यो गरेन, ऊ गरेन, यो सरकारले पनि केही गरेन…, यति धेरै पढेकी छु काम पाउँदिन भनेर तनाव झेलिरहेका महिला दिदीबहिनीहरुलाई कतिपय हस्ताक्षर पनि गर्न नजान्ने महिलाहरुले उदाहरण देखाइदिएका छन् । पैसा कमाउन पढ्नैपर्ने र पढेलेखेकाले सामान्य काम गर्न नहुने भन्ने भ्रमलाई पनि तोडिदिएका छन् –फुटपाथ व्यवसायबाट ।
कामको खोजीमा स्याङ्जाबाट काठमाडौं भित्रिएर स्वयम्भू सानो भ¥याङमा डेरा गरी बस्ने विष्णुमाया वि.क. श्रीमान्ले ज्यामी काम गरेर भएपनि कमाएर ल्याउन्जेल परिवार धानिरहेकी थिईन् । केही समयपछि श्रीमान्ले दिनभर कमाएको पैसा जाँडरक्सीमा उडाउन थालेपछि बिहान बेलुका छाक टार्ने पनि मुश्किल हुन थाल्यो । उनी बिरामी हुँदा सरकारी अस्पताल गएर पनि राम्ररी उपचार गर्न पाईनन् । घर चलाउन धौधौ परेपछि उनी नजिकैको गल्ली छेऊमा बसेर मकै पोलेर बेच्न थालिन् । यस व्यवसायबाट बिस्तारै उनका सामान्य आवश्यकताहरु पुरा हुँदै गए । उपचारका लागि श्रीमान्सँग झगडा गरिरहनु पनि परेन । आफ्नो प्यारो एक मात्र छोरोलाई पनि बोर्डिङ स्कुल पढाउन थालिन् ।
यस्तै दोलखाको लामिडाँडा घर भई कलंकी चोकमा दुई वर्षदेखि चट्पटे व्यवसाय सञ्चालन गरेकी भवानी खतिवडा पनि आफ्नो पेसामा सन्तुष्ट देखिन्छिन् । खाडी गएर श्रीमान्ले कमाएर ल्याएको अलिकति रकम फेन्सी व्यवसायमा लगाउँदा घाटा बेहोरेपछि उनी गाडा किनेर फुटपाथमा चट्पटे तथा पानीपुरी बेच्न थालिन् । यही व्यवसायबाट उनी मासिक सरदर १६ देखि १८ हजारसम्मको कमाइ गर्छिन् ।
यसबाहेक तीनजना छोराछोरीलाई पनि पढ्ने खर्च पु¥याउने गरेको बताउँछिन् । भवानी भन्छिन्– “कुनै पनि काम सानो हुँदैन, गरेर खान केको लाज ? चोेरेर, ढाँटेर पो खानु हुँदैन ।” उनकै छेऊमा मःमः बेच्ने सर्मिला दिदी त झन् दिनको ४ हजारसम्मको व्यापार गर्छिन् । मासिक कम्तीमा ३० देखि ३५ हजार फाईदा कमाउने उनको दावी छ ।
कोटेश्वर चोकमा सात वर्षअघिदेखि बच्चाहरुको फेन्सी आईटम बेचिरहेकी महिला सुन्तली खड्का पनि आजको जमानामा श्रीमान्को मात्र भर परेर बस्न नहुने बताउँछिन् । हातखुट्टा चलिन्जेल आफैं कमाएर खान सके आफूले चाहे जसरी बाँच्न सकिने उनको भनाइ छ । फुटपाथमा व्यापार गर्दा भाडा पनि तिर्न‘ नपर्ने र सस्तोमा सामान बेच्दा पनि राम्रै फाईदा हुन्छ भन्छिन् व्यवसायी खड्का ।
यसैगरी रत्नपार्क छेऊमा फलफूल काटेर बेच्ने सुनिता तमाङको पनि फुटपाथ व्यवसाय गरिखाने गतिलो उपाय बनेको छ । बिहान सबेरै उठेर बल्खु पुगेर फलफूलको भारी ल्याई दिउँसो गरेको व्यापारले आफ्ना दुई छोरीको राम्रो लालनपालन गर्दै आएकी छिन् । जागिरे श्रीमान्ले कान्छी श्रीमती ल्याएर आफूलाई हेर्न छाडेपछि उनले रोजगारीको बाटो अपनाएकी थिईन् । यी केही महिला फुटपाथ व्यवसायीहरुको उदाहरण मात्रै हो ।
यसरी बाटोमा व्यवसाय गर्ने सबै पीडित महिला मात्रै छैनन् । घरको तल्ला थप्दा लागेको ऋणको किस्ता तिर्ने र कतिपय पुराना व्यवसायीहरुले त घर नै बनाएका छन् । फुटपाथमा बसेर चिया, खाजा, झोला, फलफूल, जुत्ता चप्पल, चट्पटे, पानीपुरी, मकै, चस्मा, लत्ताकपडा आदि जेसुकै व्यवसाय गरेपनि सानो पूँजीको लगानी देखिन्छ । देख्दा साना र सामान्य लाग्ने व्यवसायबाट महिलाहरु पनि आत्मनिर्भर बन्न खोज्दैछन् । यति सानो व्यवसायबाट अफिसर लेभलको कमाइ हुन्छ भन्दा कतिपयलाई त विश्वास पनि नलाग्न सक्छ ।
यथार्थमा उनीहरुका हँसिला अनुहार र सफल कहानी सुन्दा लाग्छ, दुःख गर्न विदेश नै जानुपर्दैन न कि धेरै पढेको सर्टिफिकेट र मोटो लगानी नै चाहिन्छ । तर, नगरपालिकाका कर्मचारीको ज्यादतीले भने आफूहरु दुःखी भएको बताउँछन् । कहिलेकाहीं असामान्य रुपमा सामान जफत गर्ने हुँदा भागदौडमा ठूलै क्षति बेहोर्नु परेको दुखेसो पनि पोख्छन् उनीहरु । भन्छन्– “सरकारले फुटपाथ व्यवसायलाई व्यवस्थित बनाईदिए हामी आफ्नो व्यवसायबाट सजिलैसँग आफ्नो परिवारको गुजारा चलाउन सक्थ्यौं । यसरी फुटपाथ व्यवसायले महिलाहरुलाई सबल र सहज जीवनयापनमा सघाएको भएपनि उचित व्यवस्थापनको कमीले व्यवसायी र उपभोक्ता दुवै मारमा परेका छन् । बाटोमा बसेर व्यवसाय सञ्चालन गर्ने निश्चित ठाउँ तोकिएको छैन । पैदलयात्री हिंड्ने बीचबाटोमा व्यवसायीहरु बसिदिंदा आवतजावतमा धेरै कठिनाइ देखिन्छ ।
उपत्यका तथा उपत्यका बाहिरका पनि विभिन्न शहरका चोकचोकका भीडलाई लक्षित गर्दै व्यवसायीहरुले यस्ता साना व्यवसायहरु चलाईरहेका छन् । फुटपाथमा र पसलमा किन्दा एउटै सामानको मूल्यमा पनि धेरै फरक पर्ने हुँदा फुटपाथमा सामान किन्न उपभोक्ताहरु पनि लालायित देखिन्छन् । बरु सरकारले सामान्य भाडादर नै तोकेर निश्चित ठाउँ मिलाईदिए ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सकिन्थ्यो भन्ने उनीहरुको गुनासोे छ । यसरी आफैं केही गरौं भन्ने आँट बोकेर धुवाँ, धुलो र झरी केही नभनी फुटपाथ व्यवसाय अंगालेका महिलाहरुको आत्मनिर्भरता बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।