कालिञ्चोक गाउँपालिकाले चौँरी महोत्सव गर्ने

Thursday, July 27th, 2017 |

बिनोद कुमार खड्का

१२ श्रावण । दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले चौरी महोत्सव गर्ने भएको छ । सुन्दर धार्मिक, पर्यटकिय क्षेत्र कालिञ्चोकको कुरीमा यही श्रावण २२ र २३ गते गाउँपालिकाले चौँरी महोत्सवको आयोजना गर्ने भएको हो ।

बिहिवार सदरमुकाम चरिकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका प्रमुख बिनकुमार थामीले जिल्लाको चौँरीपालन र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले चौँरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । सम्भवतः नेपालमै दोस्रो पटक दोलखामा चौँरी महोत्सव आयोजना हुन लागेको हो । यसअघि पाँचथर जिल्लामा चौँरी महोत्सव भएको थियो ।

आयोजकका अनुसार चौँरी महोत्सवमा याक, चौरी तथा त्यसबाट उत्पादित विभिन्न परिकारहरुको करिव एक दर्जन स्टल राखिनेछ । महोत्सवको स्टलहरुमा याक, चौरीका विभिन्न प्रजातिहरुको प्रत्यक्ष अबलोकन गर्न पाईनेछ । यस्तै चिज, छुर्पी, घिउ, दहि लगाएतका परिकार चाख्न पाईनेछ भने हिमाली क्षेत्रमा प्रयोग हुने परम्परागत घरेलु सामानहरु समेत हेर्न पाईनेछ ।

antarkriya sajhaboli
कालिञ्चोक चौँरी महोत्सवबारे कालिञ्चोक गाउँपालिकाले बुधवार सदरमुकाम चरिकोटमा सरोकारवालाहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रममा कालिञ्चोक चौँरी महोत्सवबारे अबधारणा पत्र प्रस्तुत गर्दै गाउँपालिका उपप्रमुख कालिका पाठकले महोत्सवमा चौँरी र घरेलु उत्पादनको प्रदर्शनीसँगै विभिन्न जातजातिका साँस्कृतिक झाँकी, चौँरीपालन र पर्यटन प्रवद्र्धनका लागि कृषक र विज्ञहरुसँग अन्तरक्रिया समेत हुने जानकारी दिईन् ।

गाउँपालिकाले उत्कृष्ट चौँरी, चौँरी पालक किसानको पहिचान गरी पुरस्कृत गर्ने र चाँैरीपालक कृषकलाई किसान कार्ड वितरण गर्ने योजना पनि बनाएको छ । महोत्सवका लागि कालिञ्चोक गाउँपालिका वडा नम्वर १ का अध्यक्ष मानसिंह थामीको सयोजकत्वमाा मुल समारोह समिति गठन गरिएको छ भने आर्थिक, प्रचार प्रसार, अतिथि सत्कार, झाँकी व्यवस्थापन लगाएतका उप समितिहरु बनाईएको छ । जनैपुर्णिमा मेलाको अवसर पारेर आयोजना हुने महोत्सवको हज्जारौँ आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गर्ने जनाईएको छ ।

अन्तरक्रिया कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर भरत केसि, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, रणभिम गण, जिल्ला प्रहरी प्रमुख, रामेश्वर कार्की, पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर, जिल्ला पशुसेवा कार्यालय दोलखाका प्रमुख ज्ञान ब. थापा, पशु विकास अधिकृत डा. रामचन्द्र सापकोटा लगाएतले महोत्वस महत्वपुर्ण रहेको भन्दै सक्दो सहयोग गर्ने आसवासन दिए ।

VIEWS: 411