नयाँ १९ मन्त्रीको सपथ ः देउवा नेतृत्वको मन्त्री परिषद २७ सदस्यीय
११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रि परिषद २७ सदस्यीय भएको छ । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री थप गरि मन्त्री परिषद विस्तार गरिएको हो । तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय देउवा नेतृत्वको सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयको जिम्मा मोहनबहादुर बस्नेतले पाएका छन् ।
कांग्रेसबाट थप भएका मन्त्री
नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । चारै जना पार्टी सभापति शेरबहादुर देउवा समूह निकटका मानिन्छन् । बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले बाणिज्य मन्त्रालय सम्हाल्ने भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव कृषि, यज्ञबहादुर थापा कानुन, सञ्जय गौतम सिंचाई र राजन केसी युवा तथा खेलकुद मन्त्री भएका छन् । कृष्ण सिटौला समूहबाट मन्त्री भएका भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सञ्चारमन्त्री भएका बस्नेत भने खुमबहादुर खड्का समूहका हुन् ।
१३ मन्त्रालय पाएको कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान एवं शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्लाह मन्सुर श्रम तथा रोजगारमन्त्री भइसकेका छन् ।
माओवादीका ६ मन्त्री
सत्ता साझेदार माओवादी केन्द्रवाट थप भएका ६ मन्त्रीहरुमा गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री भएका छन् भने टेकबहादुर बस्नेत सामान्य प्रशासन, महेन्द्रबहादुर शाही उर्जा, शिवकुमार मण्डल आपूर्तिमन्त्री भएका छन् । यस्तै आशा कोइरालाले महिला बालबालिका तथा समाज कल्याण र सन्तकुमार चौधरीले पशुपक्षी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
यसअघि माओवादी केन्द्रबाट कृष्णबहादुर महारा उपप्रधान तथा परराष्ट्र, जनार्दन शर्मा प्रभाकर गृह र प्रभु साह सहरी विकासमन्त्री भइसकेका छन् ।
साना दलबाट तीनका मन्त्री
बुधबारको विस्तारित मन्त्री परिषद्मा फोरम लोकतान्त्रिकबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका छन् । फोरम लोकतान्त्रिकबाट जितेन्द्रनारायण देव पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहिल भूमिसुधारमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधान तथा स्थानीय विकासमन्त्री भइसकेका छन् ।
नेकपा संयुक्तबाट मिथिला यादवले वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।