माओवादी केन्द्रले फेरी किन उठाउँदैछ प्रत्यक्ष कार्यकारीको मुद्धा ?

Sunday, July 23rd, 2017 |

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई व्युँताउने भएको छ । चुनावी समिक्षा गर्न बोलाइएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई अबको प्रमुख एजेण्डा बनाउने प्रस्ताव गरेका हुन् ।

उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको नेताहरुले बताएका छन् । स्थिरता, विकास र राष्ट्रिय एकताका लागि यो पद्धत्ति उपयुक्त हुन्छ नेता गिरिराजमणि पोखरेलले भने।’ माओवादीले कुनै बेला प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई पार्टीको एउटा बटमलाईनै बनाएको थियो । दलहरुबीच पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी र संसदबाट निर्वाचित प्रधानमन्त्री रहने मिश्रति व्यवस्थामा सहमति पनि जुटेको थियो । तर दोस्रो संविधानसभामा उक्त विषय ओझेलमा पर्यो ।

संविधान निर्माणका क्रममा सहमति जुट्न नसकेको मुद्धालाई माओवादी अध्यक्ष प्रचण्डले पुन चर्काउने प्रस्ताव गर्नुलाई धेरैले अर्थपुर्ण रुपमा हेरेका छन् । वैठकमा अध्यक्ष प्रचण्डले माओवादी एजेण्डा हाईज्याक भएको भन्दै आफ्ना एजेण्डाको स्वामित्व लिनुपर्ने विषय प्रमुखताका साथ उठाए । आफ्नो पार्टीले उठाएको एजेण्डाको स्वामित्व लिने विषय एकातिर भएपनि आफ्नो सक्रिय राजनितिक जिवनको उत्तरार्दमा भावी कार्यकारी प्रमुख बन्ने प्रचण्डको महत्वाकांक्षाले पनि धेरै हदसम्म घर गरेको विश्लेषकहरुको अनुमान छ ।

विशेषगरी प्रदेश र संसदको निर्वाचनका बेला माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा अघि सार्ने निर्णय गरेको हो ।

VIEWS: 242