दोलखा उद्योग वाणिज्य संघमा समानान्तर नेतृत्व, वहुमत कार्यसमितिले तोक्यो नयाँ कार्यवाहक अध्यक्ष

Thursday, July 20th, 2017 |

विनोद खड्का
५ श्रावण । दोलखा । दोलखा उद्योग वाणिज्य संघको नेतृत्व सम्बन्धी बिवादले उग्र रुप लिएको छ । अदालतले दिएको पुन मतगणना गर्ने सम्बन्धी आदेश कार्यान्वयन नहुँदै वहुमत कार्यसमितिको बैठकले नयाँ कार्यवाहक अध्यक्ष तोकेको छ ।

अध्यक्ष सुन्दर कार्कीले संघको संस्थागत हित विपरित कार्य गरेको आरोप लगाउँदै बिहिवार वसेको कार्यसमितिको बहुमत सदस्यहरुको वैठकले प्रथम उपाध्यक्ष दिनेश थापालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । संघको नेतृत्वका लागि २०७३ साल वैशाख ११ गते सम्पन्न निर्वाचनको मतपरिणामका सन्दर्भमा सर्वोच्च अदालतमा मुद्धा विचाराधिन छ ।

संघका वहुमत सदस्यहरुले गरेको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष तोकिएका दिनेश थापाले अदालतको मुद्धाको अन्तिम किनारा नलागेसम्मका लागि यस्तो निर्णयमा पुगिएको बताए । पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा अध्यक्ष कार्कीमाथि संघलाई एकलौटी र मानोमानी ढंगले चलाएको, नियमित बैठक नराखेको, बार्षिक साधरणसभा गर्न नसकेको लगाएतका आरोप लगाईएको छ । वैठकले कृष्ण श्रेष्ठ,चक्र घतानी र राजेश श्रेष्ठलाई सदस्यमा मनोनीत समेत गरेको छ । केही दिन अघि मात्रै कार्की पक्षले दुई जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको थियो ।
यता अध्यक्ष कार्कीले भने विद्यान कार्यसमिति सदस्यहरुले गरेको निर्णय विद्यान विपरित भएको भन्दै स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन् । पछिल्लो निर्णय दोलखा उद्योग वाणिज्य संघलाई तहसनहस, वद्नाम गर्ने नियतका साथ आएको भन्दै उनले त्यसको परिणाम गम्भिर हुने चेतावनी दिए ।
निर्वाचन मण्डलले कार्कीलाई अध्यक्षमा विजयी भएको घोषणा गरेपनि उनका प्रत्यासि रामेश्वर मानन्धरले पुन मतगणनाको माग गर्दै अदालतमा मुद्धा दायर गरेका थिए । उक्त मुद्धाबारे उच्च अदालत पाटनले पुन मतगणना गर्न आदेश दिएको थियो ।

VIEWS: 163