प्राधिकरणले तोक्यो निजी आवास अनुदान लिईसक्नुपर्ने अन्तिम समयसिमा
२ श्रावण । काठमाडौँ । भुकम्पपिडितहरुले २०७५ साल असार मसान्तभित्र निजी आवास तर्फको सवै अनुदान भुक्तानी लिनुपर्ने भएको छ ।
राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम समयसिमा तोकेको हो । प्राधिकरण निर्देशक समितिको वैठकले समय सिमा तोकेरै निजी आवास पुर्ननिर्माण गर्न र अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको छ ।
प्राधिकरणले निर्धारण गरेको तालिका अनुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माण सम्बन्धी सम्पुर्ण अनुदान नलिए त्यसपछि अनुदान रकम पाउने छैनन् ।
निजी आवास पुनर्निर्माणको कामले गति लिन नसकेका बेला लाभग्राहीहरुबाट घर बनाउने कामले तिव्रता पाओस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले वताए । उनका अनुसार यो निर्णय भूकम्प प्रभावित ३१ जिल्लामै लागू हुनेछ । प्राधिकरणका अनुसार पहिचान भएका सवै लाभग्राहीहरुले आगामी कार्तिक मसान्तभित्र अनुदान सम्झौता गरि प्रथम किस्ता लिइसक्नुपर्नेछ ।
यस्तै २०७३ पौष मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पौष मसान्तसम्म र आगामी कार्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत्र मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ ।
यसैगरी २०७४ पौष मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ । प्राधिकरणले २०७४ चैत्र मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ असार मसान्तसम्म अन्तिम अर्थात तेस्रो किस्ता लिइसक्नुपर्ने गरि समयावधि निर्धारण गरेको हो ।
पछिल्लो तथ्याङ्क अनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८ सय २२ घरधुरी मध्ये ५ लाख ९४ हजार १ सय ५० घरधुरीले पहिलो किस्ता लिइसकेपनि ५२ हजार १ सय ६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् ।
अनुदान लिएपनि घर पुनर्निर्माण सम्पन्न गर्ने म्याद नतोकिदा लाभग्राहीमा जहिले निर्माण शुरु गरेपनि हुन्छ भन्ने धारणा देखिएका कारण समय सिमा निर्धारण गरिएको प्राधिकरणको भनाई छ ।
प्राधिकरणले लाभग्राहीलाई अनुदान लिने प्रक्रियामा ढिलाई नहोस् भनेर अग्रीम रुपमै प्रभावित जिल्लामा पठाएपनि दोस्रो र तेस्रो किस्ता लिनेको संख्या उत्साहजनक रुपमा अघि नबढेपछि समयसिमा तोकेरै अभियानका रुपमा कार्यक्रम शुरु गरिएको प्रवक्ता भूसालले बताए ।