दोलखामा चालु र पुँजीगत खर्च ह्वात्तै वढ्यो, तर कामको गुणस्तर र वजेट सदुपयोगमा आशंका उस्तै
विनोद कुमार खड्का
१ साउन । दोलखा । कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जिल्लामा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष चालु र पुँजीगत दुवै खर्च ह्वात्तै वढेको विवरण सार्वजानिक गरेको छ ।
कोलेनिकाले सार्वजानिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा आर्थिक वर्ष २०७३÷७४ मा चालु खर्च तर्फ ३२ दशमलव ६७ प्रतिशत र पँुजीगत खर्च तर्फ ९ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । जिल्लाका सरकारी कार्यालयहरुले गरेको आय व्याय सार्वजानिक गर्दै कोलेनिका प्रमुख रमेश शिवाकोटीले फ्रिज गएको निजी आवास तर्फको ८५ करोड नजोड्दा जिल्लाले चालु तर्फ ९६ दशमलव ५७ प्रतिशत खर्च गर्न सफल भएको जानकारी दिए । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ३४ प्रतिशतले वढि हुन आउँछ ।
शिवाकोटीका अनुसार निजी आवास अनुदान तर्फको ८५ करोड रुपैयाँ खर्च हुन नसक्नुलाई चालु खर्च धेरै वढाउन नसक्नुको प्रमुख कारण मानिएको छ । निजी आवास अनुदान तर्फ गत आर्थिक वर्ष ४ अर्व ९ करोड पच्चीस लाख ६ सय २० रुपैयाँको अख्तियारी आएको थियो ।
असारमै ३८ दशमलव ९८ प्रतिशत खर्च
जेठ १५ मै वजेट भाषण गर्ने व्यवस्था मिलाईएपनि विगतमा झै गत आर्थिक वर्षमा पनि असार महिनामा सवैभन्दा वढि रकम भुक्तानी भएको छ । गत असार महिनामा मात्रै आर्थिक वर्षको सवैभन्दा वढि चालुतर्फ १ अर्व ३५ करोड ८१ लख ८४ हजार खर्च भयो भने पुँजीगत तर्फ १ अर्व २६ करोड २४ लाख ७८ हजार रुपैयाँ वरावरको रकम भुक्तानी भएको देखिन्छ ।
आर्थिक वर्षको अन्त्यमा थप अख्तियारी आउँदा गत आ.व.मा पनि पुँजीगत अख्तियारीको ३८ दशमलव ९८ प्रतिशत असार महिनाम खर्च भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयले आर्थिक वर्षको अन्तिम दिनसम्म भुक्तानी दिँदा उक्त रकम खर्च भएको हो ।
यो वर्षपनि ठुलो रकम खर्च हुन सकेन
जिल्लाले आर्थिक वर्ष २०७३÷७४ मा चालुतर्फ ७ अर्व ६८ करोड ९४ लाख ८७ हजार रुपैयाँ वरावरको वजेट प्राप्त भएकोमा १ अर्व ८ करोड ४४ लाख ५० हजार रुपैयाँ वरावरको वजेट फ्रिज गएको छ । जसमा सवैभन्दा वढि निजी आवास अनुदान तर्फको ८५ करोड रुपैयाँ फ्रिज गएको हो । यसैगरी पुँजीगत तर्फ ३ अर्व २३ करोड ९० लाख ६१ हजार रुपैयाँ वरावरको अख्तियारी प्राप्त भएकोमा ७५ करोड १८ लाख २८ हजार रुपैयाँ वरावरको वजेट फ्रिज गएको छ ।
चालु र पुँजीगत गरी जम्मा १ अर्व ८३ करोड, ६२ लाख ७८ हजार रुपैयाँ वरावरको वजेट खर्च हुन नसकि फिर्ता गएको हो । गर्त आर्थिक वर्ष दुवै शिर्षक गरी २ अर्व, ७३ करोड, ९ लाख ९० हजार भन्दा वढि रकम फ्रिज गएको थियो । आँकडा अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ८९ करोड ४७ लाख १२ हजार रुपैयाँ कम वजेट फ्रिज भएको देखिन्छ ।
राजश्व वृद्धिदर वढेपनि खर्चको २ प्रतिशत मात्रै
गत आर्थिक वर्षमा बेरुजु घटाएर कुल २० करोड ५३ लाख ५५ हजार रुपैयाँ बरावरको राजस्व संकलन भएको छ । कोलेनिकाका अनुसार उक्त राजस्व गत आर्थिक वर्षको भन्दा ३९ दशमलव ५९ प्रतिशतले वढि हो । जसमा गैर सरकार निकायवाट प्राप्त राजस्व समावेश गरिएको छैन । जुन कुल खर्चको २ दशमलव २५ प्रतिशत मात्रै हुन आउँछ । सडक, खानेपानी लगाएत केही कार्यालयहरुको अख्तियारी विभागवाट घटाएपनि कोलेनिकामा जानकारी नआएकाले केही प्रतिशत रकम खर्च वढि हुने देखिएको कोलेनिकाको भनाई छ ।
वजेट सदुपयोगमा आशंका उस्तै
आर्थिक वर्षको अन्तिममा हतार हतार योजना सम्पन्न गरेर भुक्तानी लिने पुरानो परिपाटीले यो वर्ष पनि निरन्तरता पाएको छ । अन्तिम समयमा हतारमा योजना कार्यान्वयन हुँदा कामको गुणस्तरता देखि वजेट सदुपयोग हुनेबारे विगत देखिनै प्रश्न उठ्दै आएका छन् । आईतवार कोष तथा लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको अन्तरक्रियामा पनि त्यसबारे संचारकर्मीले आशंका व्यक्त गरे । जवाफमा प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोराले खर्च वढ्नुलाई विकास निर्माणका कामले गति लिएको अर्थमा बुझ्नुपर्ने जिकिर गरे । उनले योजनाहरुको सहि कार्यान्वयन भए नभएको वारे अनुगमन गर्ने दायित्व सवैको भएको भन्दै वद्मासि भएको भेटिए कारवाही गरिने पनि बताएका छन् ।