रामेछापमा बाढीले पुल र घर बगाउँदा २ को मृत्यु, ३ बेपत्ता, ३ जिल्लाको सडक सम्वन्ध विच्छेद
१ साउन, रामेछाप। रामेछापमा शनिवार राती अविरल वर्षापछि आएको बाढीलेपुल सहित दुई घर वगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बग्ने खिन्ती र छतिवन खोलामा आएको बाढीले घर र पुल वगाएको हो ।
बाढीले घर बगाउँदा मृत्यु हुनेमा छतिवन खोला नजिकै घर भएकी ७५ वर्षीया लालकुमारी खत्री र स्थानीय इन्द्रबहादुर खत्रीको रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीको शव तामाकोसीको हलेदीमा फेला परेको हो । खत्रीको हराइरहेकी पत्नी भने भेटिएकी छैनन् ।
प्रहरीका अनुसार बाढीले स्थानीय अशोक तामाङ र उनकी छोरीलाई बेपत्ता वनाएको छ भने इन्द्रबहादुर खत्रीकी पत्नी र उनको रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु अधिकारी पनि हराइरहेका छन् ।
घट्नास्थलमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली र स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।
बाढीले छतिवन खोलामाथि भर्खरै निर्माण गरिएको सवारी तर्ने पक्की पुल बगाउँदा उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।