दोलखा माओवादीको बैठक ः अन्तरघात गर्नेलाई कारवाही देखि नेताहरुलाई सुध्रिन चेतावनीसम्म

Saturday, July 15th, 2017 |

अन्तरघात गर्नेलाई कारवाहीको माग

३१ असार । दोलखा । नेकपा माओवादी केन्द्र दोलखाका अगुवा नेता कार्यकर्ताहरुले निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई कारबाही प्रक्रिया अघि वढाउन नेतृत्वलाई दवाव दिएका छन् ।
स्थानीय तहको निर्वाचनपछि पहिलो पटक वसेको चुनावी समिक्षा वैठकमा वोल्ने अधिकांस अगुवा नेता कार्यकर्ताले चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने चर्को आवाज उठाएका हुन् । वैठकमा रिर्पोट पेश गर्ने वडा देखि गाउँ र नगरपालिकाका उम्मेदवारहरुले निर्वाचनका क्रममा असहयोग गर्ने स्थानीय नेता कार्यकर्ताहरुलाई कारवाही गरी पार्टी भित्रैवाट असहयोग गर्ने सँस्कारको अन्त्य गर्न माग गरे ।

वैठक स्रोतका अनुसार कतिपय उम्मेदवारहरुले त अन्तरघात गर्ने नेताहरुको नामै किटेर कारवाहीको माग गरेका छन् । विशेषगरी माओवादी केन्द्रवाट जिरी नगरपालिका प्रमुखका उम्मेदवार गेल्वु शेर्पा, तामाकोसि गाउँपालिका उपप्रमुखका उम्मेदवार रामचन्द्र पोखरेल लगाएतले उनीहरुलाई कारवाही गर्न जिल्ला नेतृत्वलाई दवाव दिएको बैठकमा सहभागीहरुले वताए ।

नेताहरुलाई सुध्रिन चेतावनी
बैठकमा वोल्नेहरुले नेताहरुको गलत कार्यशैली पनि निर्वाचनमा पराजय हुनुको मुख्य कारण रहेको भन्दै सुध्रिन चेतावनी समेत दिएका छन् । “अधिकांश समय शहर र राजधानीमा विताउने, संगठन निर्माणमा थोरै समय पनि नदिने अनि चुनाब जितिन्छ ? कि छोड्नुस् कि सुध्रिनुस् ।” वक्ताहरुको भनाई उदृत गर्दै बैठक स्रोतले भन्यो, । उनीहरुले नियमित गाउँ जाने र वलियो संगठन वनाउँदै जनसम्वन्ध सुदृढ पार्ने अभियान चलाए अझै पार्टी पुर्ननिर्माणको सम्भावना रहेको औल्याए ।

जुँगु घट्ना एमालेको सुनियोजित योजना

यसैगरी पहिलो चरणको स्थानीय तह निर्वाचनका क्रममा भएको जुँगु घट्ना एमालेको सुनियोजित योजना अनुसार भएको भन्दै उनीहरुले नेतृत्व त्यसमा फसेको वताए । घट्ना घटाउने एमालेको पुर्व योजना चिर्न नसक्दा पार्टीले निर्वाचनमा क्षति बेहोर्नुपरेको उनीहरुले टिप्पणी गरे । जुँगु घट्नासँग जोडेर मुख्य नेताहरुर्लाइ फसाउन गम्भिर षड्यन्त्र हुँदा समेत अन्य नेताहरुले पहलकदमी लिन नसकेको भन्दै नेताहरुले आक्रोस पनि व्यक्त गरे ।

निर्वाचनका क्रममा गौरीशंकर गाउँपालिका अन्तरगत जुँगुमा एक एमाले कार्यकर्ताको मृत्यु भएको घट्नामा ४० जना माओवादी नेता कार्यकताहरुलाई हत्या अभियोगमा अदालतमा मुद्धा दर्ता भएको थियो ।

काँग्रेससँगको तालमेलवारे मिश्रित प्रतिक्रिया

माओवादीसँग सत्ता गठनवन्धन गरिरहेको काँग्रेससँग भएको चुनावी तालमेल बारे भने वैठकका सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । धेरैले ढिलागरी तालमेल भएको र काँग्रेसले धोका दिएको भन्दै आगामी दिनमा सजगता अपनाउन आग्रह गरेका छन् । माओवादी केन्द्रले दोलखामा जिरी नगरपालिका र शैलुङ्ग गाउँपालिका वाहेक वाँकी ७ स्थानीय तहमा काँग्रेससँग चुनावी तालमेल गरेको थियो ।

कतिपयले तालमेलवाट फाईदै हुनेभएपनि स्थानीय स्तरसम्म तालमेलकोे भाव लैजानुपर्ने सम्भावित धोकाप्रति सचेत वन्नुपर्नेमा जोड दिए भने कतिपयले तालमेलका कारण पार्टीले घाटा बेहोर्नुपरेको प्रतिक्रिया दिए । वैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेद्वार बनेकाहरुलाई रिर्पोट प्रस्तुत गर्न लगाईएको थियो ।

के होला आगामी योजना ?
माओवादी नेताहरुका अनुसार आगामी योजना निर्माणकै लागि समिक्षा बैठक वोलाईएको हो । स्थानीय स्तरवाट आएको रिर्पोट र केन्द्रबाट आउने योजनाका आधारमा जिल्ला पार्टीको आगामी रणनिति तय हुने नेताहरुले वताए । माओवादी केन्द्र दोलखाले आगामी निर्वाचनलाई लक्षित गरी नयाँ सांगठनिक र रणनितिक योजना बनाउने वताईएको छ ।

जुँगु घट्नाको विषयलाई लिएर मुद्धा खेपिरहेका जिल्लाका शिर्ष नेताहरुले अदालतबाट सफाई पाएपछि माओवादी केन्द्र दोलखाको वैठक वसेको हो । वैठकमा माओवादी नेताहरु देवी खड्का, कृष्ण भुजेल, शंकर लामा, विशाल खड्का, नर वहादुर पाख्रिन, गोपाल पाण्डे लगाएतकाको सहभागिता थियो ।

VIEWS: 211