नगरको भन्दा ठुलो आयो कालिञ्चोक गाउँपालिकाको वजेट, कृषि र पर्यटन प्राथमिकतामा

Thursday, July 13th, 2017 |

साझावोली संवाददाता
२८ असार । सुनखानी । दोलखा कालिञ्चोक गाउँपालिकाले नगरपालिका भन्दा ठुलो आकारको वजेट सार्वजानिक गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ का लागि वुधवार सार्वजानिक गरिएको वजेट जिल्लाको भिमेश्वर नगरपालिका र जिरी नगरपालिकाको भन्दा पनि ठुलो आकारको छ । भिमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल ३६ करोड ७७ लाख ५० हजार बरावरको वजेट सार्वजानिक गरेकोमा कालिञ्चोक गाउँपालिकाले कूल ४० करोड ५२ लाख ५४ हजार १ सय ३३ रुपैयाँ बरावरको वजेट सार्वजानिक गरेको हो ।

जसअनुसार नगरपालिकाको भन्दा गाउँपालिकाको वजेट ३ करोड ७५ लाख ४ हजार रुपैयाँ भन्दा वढि देखिएको छ । यस्तै जिरी नगरपालिकाको वजेट करिव २५ करोड रुपैयाँ वरावरको छ । उक्त वजेट भन्दा कालिञ्चोक गाउँपालिकाको वजेट झण्डै १५ करोड रुपैयाँले वढि छ ।

गाउँपालिका प्रमुख विनकुमार थामीले नमुना गाउँपालिका निर्माणका लागि सवै पक्षलाई समेट्न खोज्दा वजेटको आकार केही वढेको वताए । गाउँपालिका उपप्रमुख कालिका पाठकले प्रस्तुत गरेको वजेटमा सशर्त अनुदान तर्फ ११ करोड ३१ लख ३५ हजार, सामाजिकीकरण तर्फ १७ करोड ३ लाख ३४ हजार, स्रोत सुनिश्चितता तर्फ ४८ लाख हुने उल्लेख छ ।

यस्तै वजेटमा आन्तरिक आय ३ करोड रुपैयाँ वराबर प्रक्षेपण गरिएको छ भने संघ संस्थाहरुवाट ६९ लाख ५४ हजार १ सय ३३ रुपैयाँ वरावर खर्च हुने अनुमान छ । गाउँपालिका उपप्रमुख पाठकले कृषि र पर्यटन विकाससँगै मुख्य क्षेत्रको पुर्वाधार विकासलाई मध्येनजर गर्दै वजेट आएको वताईन् ।

गाउँपालिका प्रमुख विनकुमार थामीको अध्यक्षतामा भएको प्रथम कालिञ्चोक गाउँसभाको सांसद तथा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले उद्घाटन गरे । कार्यक्रमलाई लगानी वोर्डका सदस्य वालकृष्ण शिवाकोटी, एमाले दोलखाका उपसचिव डवल पाण्डे, माओवादी केन्द्र दोलखाका संयोजक गोपाल पाण्डे, काग्रेस नेता गोपीलाल थामी, गौरीशंकर गापाकी उपप्रमुख उर्मिला थामी, दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोरा, कोलेनिका दोलखाका प्रमुख रमेश शिवाकोटी लगाएतले सम्वोधन गरेका थिए ।

सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजानिक गरेको वजेट भाषणमा कालिञ्चोक गाउँपालिकाका लागि करिव २९ करोड रुपैयाँ छुट्याएको छ ।

VIEWS: 417