गाउँगाउँमै मतदाता नामावली संकलनको व्यवस्था मिलाउन आयोगलाई दलहरुको आग्रह

Wednesday, July 12th, 2017 |

२८ असार, काठमाडौं । राजनीतिक दलहरुले गाउँस्तरवाटै मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
आयोगले हालै आगामी साउन १ देखि १५ गतेसम्म जिल्ला सदरमुकामहरुवाट मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेको थियो । तर राजनीतिक दलहरुले मतदाता नामावली संकलन गर्ने श्रावण १ गतेदेखि १५ गतेसम्मको समयसीमा पनि उपयुक्त नभएको भन्दै त्यसका पुर्नविचार गर्न आग्रह गरेका हुन् ।

आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी श्रावण १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामहरुमा मतदाता नामावली संकलन गर्ने र १६ गतदेखि २० गतेसम्म अध्यावधिक गर्ने निर्णय गरिसकेको छ ।

उक्त निर्णयवारे सुझाव लिन आयोगले बुधबार कान्तिपथस्थित आफ्नै कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रतिपक्ष नेकपा एमाले, संघिय समाजवादी फोरम, नेमकिपा लगाएत दलका नेताहरुले असन्तुष्टि व्यक्त गरे । एमालेका नेता राजेन्द्र पाण्डेले जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै गाउँगाउँबाटै मतदाता नामावली संकलनको काम गर्न आयोगलाई सुझाव दिए ।

संघीय समाजवादी फोरम, नेपालका नेता डा। शिजवी यादवले स्थानीय तहलाई परिचालन गरेर गाउँगाउँबाटै मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था गर्न निर्वाचन आयोग उदार र लचिलो हुनुपर्नेमा उनले जोड दिए ।

आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले भने मतदाता नामावली संकलनका लागिन हाल भएको निर्णय कार्यान्वयनमा सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

निर्वाचन आयोगले अव हुने प्रदेश सभा र प्रतिनिधि सभामा १८ वर्ष उमेर पुगेका सबै नागरिकहरुको मताधिकार सुनिश्चित गराउन मतदाता नामावली संकलनको काम सुरु गरिएको जनाएको छ ।

VIEWS: 132