रानीबारी हत्याकाण्ड ः दोलखा र रामेछापका दुई अभियुक्तलाई जन्मकैदको फैसला

Wednesday, July 12th, 2017 |

२८ असार, काठमाडौं । रानीबारी हत्याकाण्डका दुई जना अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश रमेश प्रसाद रिजालको एकल इजलासले बुधबार दोलखा गौरीशंकर गाउँपालिका खारे घर भएका मनराज गुरुङ र रामेछाप फुलासि घर भएका प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

रानीबारी हत्याकाण्डमा संलग्न भएको अभियोगमा प्रहरीले उनीहरु दुवै जनालाई दुई वर्ष अघि पक्राउ गरेको थियो । रानीबारी हत्याकाण्ड करिव १४ वर्ष अघि भएको थियो । प्रहरीका अनुसार हत्याकाण्डका योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

के हो रानीबारी हत्याकाण्ड

काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेको स्वीकार गरेको जनाएको छ । तर, उनीहरुको ‘टार्गेट’ भने श्रेष्ठ दम्पती नभएर घरबेटी गीता खड्का थिइन्, जो म्यान पावर व्यवसायी थिइन् । हाल उनी देश बाहिर छिन् ।

गीताको हत्याका लागि सुपारी लिएको मनराजको समूहले हेमन्त र अञ्जलीको हत्या गरेका थिए । उनीहरुले श्रेष्ठ दम्पतीकी सात वर्षकी छोरीलाई पनि खुकरी हानेका थिए । तर, उनी बाँच्न सफल भएकी छन् ।

श्रेष्ठ दम्पत्तिको हत्यापछि मनराज र प्रमेशले घरबेटी गीताको पनि हत्या गर्न खोजेपिनि गीता शौचालयमा लुकेका कारण बचेको प्रहरी अनुसन्धानले देखाएको छ ।

VIEWS: 145