पुर्व लडाकु कमाण्डर बने गाउँपालिका अध्यक्ष
२० असार, । रुपन्देही जिल्लामा पुर्व लडाकु कमाण्डरले गाउँपालिका प्रमुख जितेका छन् । स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लामा नेकपा माओवादी केन्द्रको तर्फवाट जित हाँसिल गर्ने उनी एक्ला हुन् । जिल्लाको १६ स्थानीय तहमध्ये ११ तहको परिणाम आउँदा उनले मात्र माओवादी केन्द्रलाई जित दिलाएका हुन् ।
रुपन्देही जिल्लाको एक तहमा प्रमुख र उपप्रमुख जितेर हिरा केबट ‘राहुल’ले जिल्लामा माओवादी केन्द्रको साख जोगाएका हुन् । उनी नेपाली सेनाको जागिर छाडेर २०५७ तिर माओवादी जनयुद्धमा होमिएका थिए । जनयुद्धकालका थुप्रै लडाईंका मोर्चा जितेका उनलाई स्थानीय तह निर्वाचनमा पनि हार व्यहोर्नु परेन ।
स्थानीय तह निर्वाचनमा केबटले रुपन्देहीको ओमसतिया गाउँपालिका जितेका हुन् । केवट २ हजार ४ सय ४२ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मन्जित यादवले २ हजार ३ सय ११ मत प्राप्त गरेका थिए ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि माओवादीले नै जित हात पारेको छ । उपाध्यक्षमा सुन्दरमती हरिजनले २ हजार २ सय ६४ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अमृता उप्रेतीले २ हजार १ सय ७२ मत प्राप्त गरेकी छिन् ।