योग गर्नुस, निरोग बन्नुस्
१८ असार । नेपालीले योगलाई जीवनशैलीको अंग बनाए चिकित्सा क्षेत्रमा हुने ९० प्रतिशतसम्म खर्च जोगिन सक्ने दाबी योगगुरुहरूको छ ।
योगले शारीरिक स्वास्थ्यमा बल प्रदान गर्नुका साथै मानसिक तनावसमेत हर्ने भएकाले यस्तो परिवर्तन देखिन सक्ने उनीहरूको अनुमान हो ।
शारीरिक, मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने भएकैले हाम्र मुलुकमा नियमित योग गर्ने करिब १० लाख व्यक्ति रहेको आकलन छ । अझ योगलाई जानेका र एक पटक योग गरेकाहरूको संख्या ५० लाखभन्दा बढी रहेको दाबी गरिन्छ ।
पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रमुख लवदेव मिश्र मुलुकभरि गरिएको सर्वेक्षणलाई औंल्याउँदै उक्त दाबी गर्ने गर्छन् ।
यसैले होला विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को दक्षिण–पूर्व एसियाकी निर्देशक डा। पुनम खेत्रपाल सिंह योग सबै उमेरमा गर्न सकिने जनाउँदै बालबालिकाले सातामा ६० मिनेट र वयस्कले सातामा १५० मिनेट योग गर्दा नसर्ने रोगबाट टाढा रहन सकिने बताउँछिन् ।
हाल सहरिया जीवनशैली, शारीरिक सक्रियताको कमी लगायतले गर्दा दक्षिण–पूर्व एसियामा समेत नसर्ने रोगको जोखिम बढ्दो छ ।
६५ वर्षभन्दा माथिका लागि योगले डिप्रेसनको जोखिम कम गर्न सघाउनुका साथै संज्ञानात्मक क्षमतालाई कायम राख्ने उल्लेख गर्दै डब्लूएचओ, दक्षिण–पूर्व एसियाले यो क्षेत्रका ७० प्रतिशत युवा र ८० प्रतिशत युवतीले पर्याप्त शारीरिक गतिविधि नगर्ने गरेको जनाउँछ । बर्सेनि यो क्षेत्रमा नसर्ने रोगले गर्दा ८५ लाख मानिसको मृत्यु हुने गर्छ ।
५ हजार वर्षदेखि गरिँदै आएको योग शारीरिक शक्ति र लचिलोपना वृद्घिको प्रभावकारी उपाय रहेको उल्लेख गर्दै डब्लुएचओले यसले मुटुसम्बन्धी स्वास्थ्य राम्रो पार्नुका साथै, क्यालोरी डढाउने मात्र नभई मस्तिष्कलाई समेत आराम पुर्याउने जनाएको छ ।
स्वास्थ्यसम्बन्धी आधिकारिक निकायहरूले नै योगलाई प्रस्तावित गर्न थालेपछि विश्वमा पश्चिमा मुलुकसँगै सबै भागमा हाल योगप्रतिको आकर्षण बढ्दै छ ।
मुलुकमा समेत सामान्य अवस्थामा दिनहुँ २५ सय योग कक्षा सञ्चालन हुनुका साथै अनुकूल मौसममा त यो कक्षाको संख्या ५ हजारसम्म पुग्ने गरेको छ ।
सम्पूर्ण जीवनको विज्ञान योग सुरु हुनुअघि वैदिक कालमा हाम्रै क्षेत्रमा भएको थियो । योग हाम्रो धरोहर हो । यो नेपालीको जीवनशैलीको एउटा सशक्त खण्डसमेत रहेको छ । तर बढ्दो सहरीकरणसँगै आधुनिकताले हालका दिनमा योग विज्ञानप्रतिको आकर्षण पुनस् जागृत गर्नुपर्ने अवस्था आउन थालेको छ ।
पहिले हाम्रो जीवनको अंग रहेको योगलाई हाल समाजमा सामान्य व्यायाम ठान्ने गरिएको विज्ञहरू बताउँछन् ।
‘योगलाई व्यायाम मात्र नठानौं, गलत रूपले योग गर्दा शरीरमा कुप्रभावसमेत पर्छ,’ स्वास्थ्य मन्त्रालयको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा। सिद्घार्थ ठाकुर भन्छन् ।
डा। ठाकुरका अनुसार विश्वका करिब १० करोडभन्दा बढी व्यक्तिले दिनहुँ गर्ने योग एउटा यस्तो क्रिया हो, जसले शरीरमा प्राणवायु ९अक्सिजन० को स्तर बढाउँछ । यसले शरीरको विषाक्ततामा कमी ल्याउँछ र शरीरको प्राकृतिक आधारलाई सन्तुलनमा ल्याउँछ ।
योग गर्नमा उमेर बाधक नभए पनि प्रशिक्षक योगकर्मी वा चिकित्सकको सल्लाह र सुझावमा योग गर्नु उपयुक्त हुन्छ ।
शरीरमा भएका रोग विशेषको प्रभाव न्यून गर्न गरिने योग फरक हुने भएकाले यसलाई चिकित्सकले भनेअनुसार मात्र गर्नुपर्ने डा। ठाकुर बताउँछन् ।
बालबालिका, वयस्क र वृद्घका लागि योग
बालबालिकाका लागि सहज व्यायाम र सहज आसन प्रभावकारी हुन्छ । यसअन्तर्गत सूर्य नमस्कारलगायतका विभिन्न योग पर्छन् । बालबालिकाले विभिन्न योगक्रिया जानी वा नजानीसमेत गरिरहेका हुन्छन् ।
वयस्कका लागि आसन, सूक्ष्म व्यायाम र प्राणायाम आवश्यक हुन्छ । योगगुरु मिश्रका अनुसार बूढेसकालमा सूक्ष्म व्यायाम र प्राणायाम गर्नुभन्दा महत्त्वपूर्ण हो ।
सबैभन्दा बढी प्रचलित ५ प्रक्रिया
योगअन्तर्गत मुलुकमा सबैभन्दा बढी प्रचलित ५ वटा प्रक्रिया रहेको योगगुरु मिश्र बताउँछन् । हाम्रो मुलुकमा गरिएका विभिन्न सर्वेक्षणका आधारमा यो अनुमान गरिएको हो ।
कपालभातीलाई प्राणायामको रूपमा लिइन्छ । यो सबैभन्दा बढी प्रचलित छ । दोस्रोमा अनुलोमबिलोम प्राणायाम र तेस्रोमा भस्त्रिका प्राणायाम पर्छ । चौथो स्थानमा आसनको एउटा छुट्टै प्रक्रिया रहेको सूर्य नमस्कार आउँछ । पाँचौं स्थानमा ताडासन पर्छ । यो आसन सामान्यतस् हामीले जानी वा नजानी उठ्नासाथ गर्ने गर्छौं ।
चिकित्सकको सल्लाह लिनुपर्ने अवस्था
उच्च रक्तचाप र मुटु रोगी, हर्नियाको समस्या भएकाहरू, कमर लगायतमा नसा च्यापिएको अवस्थामा, घुँडाको अत्यधिक दुखाइ, दीर्घरोगी, दम रोगी, निको नहुने रोगका सिकार, जटिल रोगका पीडितले योग गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यस्तो स्थितिमा योग गर्दा कहिलेकाहीं प्रतिकूल परिस्थिति आउन सक्ने चेतावनी दिँदै योगगुरु मिश्र भन्छन्, ‘यस्ता बिरामीले चिकित्सक, आधिकारिक रूपमा योग प्रशिक्षित व्यक्तिको सल्लाहमा मात्र प्रस्तावित योगासन गर्नुपर्छ ।’
गर्भावस्थामा समेत योग
गर्भावस्थामा समेत विशेष नियमहरू अपनाएर योग गरिन्छ । यसो गर्दा गर्भवती महिलासँगै गर्भमा रहेको शिशुसमेत बलियो हुने योगगुरु मिश्र बताउँछन् ।
गर्भावस्थामा गरिने योगलाई चिकित्सक, योगगुरुको सल्लाह र सुझाव अनुसार आफ्नो शारीरिक स्वास्थ्यको अनुकूल हुने गरी गर्नुपर्छ ।
योग गर्दा, गर्नुअघि र पछि के गर्ने
योग विज्ञान भएकोले यो प्रक्रिया सुरु गर्दा विशेष दिशानिर्देश, सिद्घान्तको पालन गर्नु अत्यावश्यक हुन्छ । हाम्रो मुलुकको सरकारी स्वास्थ्य निकायले हालसम्म आमव्यक्तिका लागि योगबारे कुनै प्रोटोकल बनाएको छैन । भारतमा भने सम्बन्धित मन्त्रालयले यस्तो आचारसंहिता निर्माण गरेको छ । त्यसका केही बुँदा हामीलाई पनि काम लाग्न सक्छन् ।
( योगाभ्यास गर्नुअघि नै शौच गरेको हुनुपर्छ ।
( योगाभ्यास शान्त वातावरणमा गर्नुपर्छ । सुतीका लुगा लगाएको हुनुपर्छ ।
( योगाभ्यास खाली पेटमै वा अल्पाहार लिएर गर्नुपर्छ ।
( बीचमा कमजोरी अनुभव भए मनतातो पानीमा अलिकति मह मिसाएर खानुपर्छ ।
( रोग, थकान वा हडबडीको अवस्थामा योगाभ्यास गर्नु हुँदैन ।
( कुनै पुरानो रोग भए योगाभ्यास थाल्नुअघि चिकित्सक वा योग विशेषज्ञको सल्लाह लिनुपर्छ ।
( महिनावारी वा गर्भावस्था भएका बेला योगाभ्यास गर्नुअघि विशेषज्ञको परामर्श लिनुपर्छ ।
( योगाभ्यास गर्दा श्वासप्रश्वास गतिमा ध्यान दिनुपर्छ ।
( राम्रो प्रतिफल आओस् भन्नका लागि योगाभ्यास लामो समयसम्म गर्नुपर्छ ।
( योगाभ्यास गरेको २० मिनेटदेखि आधा घण्टापछि नुहाउनुपर्छ ।
( खानपिन अभ्यासको २० मिनेटदेखि ३० मिनेटपछि गर्नुपर्छ ।