पहिरोले घर बगाउँदा एकै थामी परिवारका ३ सहित ४ जना वेपत्ता
१४ असार । दोलखा । दोलखा भिमेश्वर नगरपालिका ९ स्थित दुई वटा घर मंगलवार राती पहिरोले वगाउँदा एक जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता रहेका छन् ।
राती करिव साँढे १ वजेको समयमा माथितिरवाट आएको पहिरोले घर वगाउँदा भिमेश्वर नगरपालिका ९ कुटकुटे निवासि मंगले थामीकी श्रीमती शान्ती थामीको मृत्यु भएको हो । मृतकको शव घरभन्दा दुई सय मिटर तल खोलामा फेला परेको छ । शान्तीका दुई छोरीहरु क्रमशः १२ वर्षिया रोशनी थामी र १० वर्षिया सन्तोषी थामी र अन्दाजी ७० वर्षिय लाटी थामी वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले जानकारी दिए ।
लाटी थामी एक्लै वस्दै आएकी थिईन् । स्थानीयका अनुसार मंगले थामी भने पहिरो जाने समयमा घर वाहिर रहेका कारण वच्न सफल भएका छन् । अविरल वर्षापछि आएको पहिरोले उनीहरुको घर बगाएर स्थानीय क्याङथली खोलामा पर्याएको स्थानीयले वताएका छन् । वस्तीमाथि पात्लेको वन भन्ने ठाउँवाट पहिरो जान थालेको थाहा पाएपछि स्थानीयवासि भागेर नजिकैको विद्यालयमा गएर रात विताएका थिए । पहिरोका कारण डेढ दर्जन वढि घरपरिवार उच्च जोखिममा रहेको स्थानीको भनाई छ । भिमेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख सहित जिल्ला प्रहरी कार्यालयको टोली र स्थाथानीले घट्नास्थलमा उद्धार कार्य गर्दैछन् ।
भुकम्पछि उक्त वस्तीलाई उच्च जोखिमको सुचीमा राखिएपनि स्थानान्तरणको समयमै पहल हुन नसक्दा घट्ना घटेको स्थानीयले वताएका छन् ।