कालिञ्चोक जाने पदमार्ग सेनाद्धारा गाउँपालिकालाई हस्तान्तरण

Monday, June 26th, 2017 |

१२ असार । दोलखा । दोलखाको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल कालिञ्चोक पुग्ने पदमार्ग निर्माण सम्पन्न गरेपछि सोमवार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
प्राकृतिक रुपमा समेत आकर्षक पर्यटकिय गन्तव्यको रुपमा रहेको कालिञ्चोक मन्दिर पुग्ने घ्याङडाँडा—कालिञ्चोक पदमार्ग एक कार्यक्रमकाबीच सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । उक्त पदमार्ग भुकम्पले क्षेति पुर्याएपछि दोलखा चरिकोट स्थित नेपाली सेनाको रणभिम गणले पुर्ननिर्माण गरेको हो । पदमार्ग निर्माणपछि कालिञ्चोक भगवतीको दर्शनका लागि जाने दर्शनार्थी, विशेषगरी वृद्धवृद्धालाई सजिलो भएको स्थानीयले वताएका छन् । रणभिम गणका जर्नेल जीतबहादुर गुरुङले सोमवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बीनकुमार थामी र उपप्रमुख कालिका पाठकलाई पदमार्ग सुधार सम्पन्न भएको प्रमाण हस्तान्तरण गरे ।
पदमार्ग हस्तान्तरणपछि कालिञ्चोक गाउँपालिकाका प्रमुख थामीले नेपाली सेनालाई धन्यवाद दिँदै पदमार्गको थप स्तरोन्नतीका लागि आफुले सक्दो पहल गर्ने वताए । कालिञ्चोक क्षेत्रको समग्र व्यवस्थापका लागि विशेष कार्ययोजना वनाएर लागु गर्ने उनको भनाई छ ।

जिल्ला समन्वय समितिको पाँच लाख ५० हजार, अन्यको करिब ६० हजार र वाँकी आफ्नै खर्चमा रणभिम गणले उक्त पदमार्ग निर्माण गरेको जनाएको छ । कालिञ्चोक क्षेत्रमा वार्षिक हज्जारौँ आन्तरिक तथा वाह्य पर्यटक भित्रने गरेका छन् ।

VIEWS: 996