साउनमा तामाकोसिको शेयर, कसरी होला निष्काशन ?

Saturday, June 24th, 2017 |

–विनोद खड्का
१० असार । दोलखा । माथिल्लो तामाकोसि जलविद्युत आयोजनाले नयाँ आर्थिक वर्षमा जिल्लावासिका लागि छुट्याईएको सेयर निष्काशन गर्दैछ ।
आयोजना प्रवद्र्धक कम्पनी (अपर तामाकोसि हाईड्रोपावर लिमिटेड) ले यही असार महिनामा आन्तरिक गृहकार्य सकेर सम्भवत ः साउन महिनाको सुरुवातमै शेयर निष्काशन गर्नेछ । आयोजना, शेयर निष्कासनका लागि जिल्ला समन्वय समितिको औपचारिक निर्णयको पर्खाईमा छ । आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जिल्ला समन्वय समिति गठन लगत्तै शेयर निष्काशन प्रक्रिया अघि वढ्ने जानकारी दिए । आयोजनाको करिव ९० प्रतिशत काम सम्पन्न हुनलाग्दा शेयर निष्काशन हुन लागेको हो ।

किन भयो ढिलाई ?
आयोजनाले यसअघि २०७१ सालमै शेयर निष्कासनको तयारी गरेपनि विनाशकारी भुकम्पका कारण उक्त प्रक्रिया पछि धकेलिएको थियो । त्यसपछि आयोजना भुकम्पबाट पुगेको क्षेतिको अध्ययन, पुर्ननिर्माण र वढ्नसक्ने लागत विश्लेषणमै व्यस्त रह्यो । त्यसैबीचमा सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि शेयर निष्काशनमा थप ढिलाई हुन पुगेको हो । हाल पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरु निर्वाचित भएर आईसकेपनि जिल्ला समन्वय समिति गठन हुन नसक्दा शेयर वितरण प्रक्रिया अझ लम्बिएको छ । सम्भवत ः यहि असार महिनाभित्र समन्वय समिति गठन भएर शेयरको विषयले प्रवेश पाउनेछ ।

कसरी होला शेयर निष्काशन ?
माथिल्लो तामाकोसि जलविद्युत आयोजना जिल्ला सहयोग तथा समन्वय समितिले यसअघि गरेको निर्णयलाई नै आधार मानी शेयर निष्कासन गर्ने आयोजनाको मोटामोटी तयारी रहेको आयोजना अधिकारीहरुले वताएका छन् । यसअघि लामो रस्साकस्सीपछि आयोजनामा जिल्लाबासिका लागि छुट्याईएको शेयर समान रुपमा वितरण गर्ने निर्णय भएको थियो । जिल्ला समन्वय समितिले सोही निर्णयलाई सदर गरेको अवस्थामा जिल्लाबासि सवैले समानुपातिक रुपमा अर्थात प्रतिकित्ता १ सय रुपैयाँका दरले (समान प्रतिव्यक्ति ७० कित्ता) शेयर प्राप्त गर्नसक्नेछन् । आयोजना प्रवक्ता न्यौपानेले त्यसवारे धितोपत्र वोर्डको सेयर खरिदविक्रि नियमावली अनुसार जिल्ला समन्वय समितिले निर्णय गर्ने वताए । दोलखा जिल्लाबासिका लागि १० प्रतिशत अर्थात (१ अर्ब ५ करोड ९० लाख रुपैयाँ) छुट्याईएको छ ।
दोलखालीको परिचय खुल्ने महिला, २०६४ माघ १५ भित्र दोलखा बसाई सरी आएको र आवेदन खुल्ला गरिएको अवधिमा जन्मिएकाहरुको हकमा पनि सेयर खुल्ला हुने यसअघिनै निर्णय भैसकेको छ ।

वढेको जनसंख्या र लागतले शेयर तलमाथी हुनसक्ने
प्रतिव्यक्ति ७० कित्ता सेयर वितरणको निर्णय तत्कालिन जनसंख्या र आयोजनाको त्यतिवेलाको लागतका आधारमा प्रक्षेपण गरिएको थियो । जनगणनापछि दोलखाको जनसंख्या वढेर सवा २ लाख नाघेको अनुमान छ । यसैगरी आयोजनाको कुल लागत पनि ३५ अर्वबाट भुकम्पपछि वढेर करिव ४१ अर्व पुग्ने अनुमान गरिएकाले जिल्लाबासिवाट १ अर्व २० करोड ३० लाख रुपैयाँ सेयर संकलन गर्नुपर्ने हुन्छ । उक्त सेयर वढेको अनुमानित जनसंख्या २ लाख २० हजारलाई भाग लगाउँदा करिव ५५ कित्ता प्रति व्यक्तिको भागमा पर्ने देखिन्छ ।

अतिविपन्नको सेयर सुनिश्चितताबारे अन्यौल
आयोजनामा अतिविपन्न समुदायको सेयर सुनिश्चित गर्नेवारे ठोस निर्णय हुन नसक्दा उनीहरुको सेयर लगानीबारे अन्यौल कायमै छ । पहिला लगानी गर्न नसक्नेहरुका लागि वैकल्पिक व्यवस्थाको खोजी गर्ने अमुर्त निर्णय भएको थियो । सरकार, आयोजना र स्थानीय तह जमानी वसेर वैङ्क, सहकारी लगाएत वित्तिय सँस्थावाट ऋणको व्यवस्था गर्ने छलफल भएपनि त्यसबारे आधिकारिक निर्णय हुन सकेको छैन । वैकल्पिक व्यवस्था नभए अतिविपन्न समुदायका धेरै सेयर लगानी गर्ने अवसरबाट बञ्चित हुनसक्नेछन् ।

VIEWS: 304