लिखित परीक्षामा अनुतिर्ण भएपनि अस्थायी शिक्षकलाई सुविधा

Friday, June 23rd, 2017 |

९ असार, शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने विषयमा सहमति जनाएको छ । सहमतिसँगै आठ दिनदेखि जारी अस्थायी शिक्षकहरुको आन्दोलन शुक्रबार टुङ्गिएको छ।

मन्त्रालय र आन्दोलनरत शिक्षकबीच केहि दिन देखि जारी वार्ताका क्रममा औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो । यसअघि परीक्षा वा सुविधा मध्ये एक रोज्नु पर्ने ऐनमा व्यवस्था गरिएको थियो । यो सहमतिमा परीक्षामा अनुतिर्ण भएपनि सुविधा पाउने प्रावधान राखिएपछि शिक्षकहरुले ८ दिनदेखि जारी अनशन तोडेका हुन् ।

सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागि हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकको हकमा शिक्षा ऐन आठौ संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त औषधि उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउने सहमतिमा भनिएको छ ।

त्यस्तै ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म्को रिक्त दरबन्दीको ४९ प्रतिशत आन्तरिक पद कम भएको गुनासो सुनुवाई गर्न ११ सदस्यीय कार्यदल गठन गर्ने सहति पनि भएको छ । कार्यदललाई यस विषयको अध्ययन गर्न १५ दिनको समय दिइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालका अनुसार शिक्षा विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षा लगायतका विषयलाई सुधार गर्न थप गृहकार्य गर्ने सहमति भएको छ ।

VIEWS: 78