जिल्ला समन्वय समिति दोलखाको वागडोर कसले सम्हाल्ला ?
८ असार । दोलखा । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ महिना वित्न लाग्दा समेत जिल्ला समन्वय समिति दोलखाले नयाँ नेतृत्व पाउन सकेको छैन ।
निर्वाचन परिणाम सार्वजानिक भएको मितिले एक महिना भित्र जिल्ला समन्वय समिति चयनका लागि निर्वाचन प्रक्रिया अघि वढाउनुपर्ने संवैधानिक व्यवस्था छ । यद्यपी निर्वाचन सकिएको पाँच हप्ता वढि भैसक्दा समेत निर्वाचन आयोगले समन्वय समिति चयनको गृहकार्य अघि नवढाएको हो ।
किन वढेन निर्वाचन प्रक्रिया ?
जिल्ला स्थित राजनितिक दल, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरु र जिल्ला समन्वय समितिका अधिकारीहरु निर्वाचन आयोगले नै समन्वय समिति चयनको प्रक्रिया अघि वढाओस्् भन्ने पार्खाईमा छन् । तर निर्वाचन आयोगले हालसम्म निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी गरेको देखिँदैन । जिल्ला निर्वाचन कार्यालय दोलखाका नायव सुव्वा लेख वहादुर वस्नेतले जिल्ला समन्वय समितिको निर्वाचनबारे केन्द्रवाट कुनै सुचना प्राप्त नभएको वताए ।
स्रोतका अनुसार मेलुङ गाउँकार्यपालिका गठन भएको भएको आगामी २६ गते एक महिना पुग्ने भएकाले सोही मितिलाई आधार मानी समन्वय समिति गठन गर्ने तयारी छ । समन्वय समितिका कतिपय अधिकारीहरु भने जिल्लासभाले नै नेतृत्व चयनको प्रक्रिया अघि वढाउन अग्रसरता लिँदा हुने पक्षमा पनि देखिएका छन् ।
को को छन् आकांक्षी ?
जिल्लाको २ नगरपालिका सहित ९ स्थानीय तहमध्ये सात वटामा एमाले उम्मेदवार निर्वाचित भएका कारण जिल्ला समन्वय समितिका अधिकारीहरु पनि एमालेको एकलौटी हुने देखिन्छ । नगर र गाउँपालिका प्रमुख र उपप्रमुख गरी १८ सदस्यीय जिल्ला सभाले समन्वय समिति निर्वाचित गर्नेछ । जसमा १४ सदस्य एमाले निकटका छन् ।
जिल्ला समन्वय समितिको प्रमुखमा हाल एमाले पुर्व जिल्ला उपाध्यक्ष भुवनसिंह थापा र हालका उपसचिव डवल पाण्डे वढि आकांक्षी देखिएका छन् । एमाले निकट स्रोतका अनुसार उनीहरु दुई जना मात्रै प्रमुख प्रतिस्पर्धी हुन् । एमालेका पुराना नेताका रुपमा परिचित थापाले अघिल्ला जिल्ला अधिवेशनहरुमा जिल्ला अध्यक्षको दावी गरेपनि अन्तिममा त्याग गरेका थिए । यस्तै पार्टीभित्र सुरु देखिनै सक्रिय पाण्डे पनि गाउँपालिकाको टिकट छाडेकाले समन्वय समितिको नेतृत्व आफुले पाउनुपर्ने अडानमा छन् ।


गुटगत किचलो
एमालेभित्र पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल गुटबीचको किचलो जिल्ला समन्वय समिति नेतृत्वको उम्मेद्वार छनौटमा पनि देखिएको छ । ओली समुहका थापा र नेपाल समुहका पाण्डेले आफ्नो पक्षमा निर्णय गराउन पार्टीभित्र लविङ तिव्र पारेका छन् । नेपाल समुहका नेताहरुले जिल्ला समन्वय समितिको नेतृत्व पाउने आसवासनमा गाउँपालिका प्रमुखको टिकट छाडेको भन्दै पाण्डेले समन्वय समितिको नेतृत्व पाउनुपर्ने दावी गरेपनि ओली पक्षले स्थानीय तहको टिकट वितरणका वेला त्यस्तो कुनै सहमति नभएको वताएको छ ।
थापालाई समन्वय समितिमा पठाएर पाण्डेलाई जिल्ला पार्टीको महत्वपुर्ण जिम्मेवारी दिने तयारी ओली पक्षको रहेको वताईएको छ । शैलुङ्ग गाउँपालिका प्रमुख समेत रहेका एमाले जिल्ला सचिव भरत दुलालले जिल्ला समन्वय समितिमा पठाउने नेतृत्ववारे छलफलकै क्रममा रहेकाले कसलाई पठाउनेबारे अहिल्यै भन्न नसकिने वताए ।
जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा ३ जना महिला सदस्य र कम्तीमा एक जना दलित वा अल्पसंख्यक गरी बढीमा ९ सदस्यीय जिल्ला समन्वय समिति चयन गर्नुपर्नेछ ।