३ वटा सुगर मिलले ४९ करोड तिर्ने प्रतिबद्धता जनाए तर २५ करोडको हिसाब मिलेन

Tuesday, December 22nd, 2020 |

 

 

काठमाडौँ ७ पौष

सर्लाहीका उखु किसानले सात वर्षदेखिको उखुको बक्यौता माग गर्दै सुरु गरेको काठमाडौं केन्द्रित आन्दोलन नवौं दिनमा प्रवेश गरेको छ । मंसिर २८ गते आइतबारबाट सुरु भएको आन्दोलन दोस्रो सातामा प्रवेश गर्दा किसानको उधारो भुक्तानीमा प्रगति भएको छ ।

किसानलाई भुक्तानी दिलाउन समन्वय गरि रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार तीन वटा मिलले केहीदिन भित्रै ४९ करोड रुपैयाँ तिर्ने प्रतिवद्धता जनाएको बताएको छ । त्यसमध्ये ३० करोड किसानको खतामा पठाउन सुरु भइसकेको मन्त्रालयकी उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

त्यसबाहेक करिब ४१ करोड बक्यौता रहने आन्दोलनरत किसानहरुको भनाइ छ ।

हालसम्मको भुक्तानी

अन्नपूर्ण र इन्दिरा सुगर मिलले किसानको भुक्तानीको लागि १४ करोड रुपैयाँ जोहो गरेको जानकारी गराएको उद्योग मन्त्रालयले जनाएको छ । त्यसमध्ये ५ करोड किसानको खातामा पठाउन थालिएको जानकारी जिल्ला प्रशासन कार्यालय सर्लाहीले मन्त्रालयलाई गराएको छ ।

मन्त्रालयका प्रवक्ता केसीका अनुसार दुवै मिलमा किसानको साढे २२ करोड हाराहारी बक्यौता थियो । मिल सञ्चालकले पनि आइतबार विज्ञप्ति जारी गरेर दैनिक एक करोडका दरले किसानलाई भुक्तानी सुरु भएको जनाएको थियो । उद्योगको बाचाअनुसार किसानले बक्यौता पाए अन्नपूर्ण र इन्दिरा मिलले साढे आठ करोड बुझाउन बाँकी रहन्छ ।

त्यस्तै, रौतहटको श्रीराम सुगर मिलले सबै बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । उद्योगले ३५ करोड रुपैयाँ तिर्ने आधार मन्त्रालयलाई बुझाएको छ । यसमध्ये १६ करोड किसानलाई वितरण गर्न सुरु भएको र थप ९ करोड रुपैयाँ तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बीनी गरी चार वटा मिलको कुल ६५ करोड हाराहारी बक्यौता रहेकोमा ४९ करोड रुपैयाँ भुक्तानीको चरणमा रहेको मन्त्रालयको दाबी छ । किसानको १० करोड ७४ लाख बक्यौता रहेको लुम्बिनी सुगर मिल भने मन्त्रालयको सम्पर्कमा आएको छैन ।

मिल सञ्चालक मनिष अग्रवालको निधनपछि उद्योगको दायित्व कस्को भन्ने विवाद देखिएको मन्त्रालयले जनाएको छ । मिल सञ्चालकका नाममा पक्राउ पूर्जी भने जारी भइसकेको छ ।

किसान अझै आश्वस्त छैनन्

माइतीघरमा आन्दोलनरत उखु किसानले भने मन्त्रालयको भनाईप्रति पूर्ण विश्वस्त हुन नसकेको बताउँछन् । केही मात्रामा भूक्तानी सुरु हुनु सकारात्मक भएपनि देशभरका किसानले सबै पैसा पाउनेमा आशंका रहेको बताउँदै संघर्ष समितिका संरक्षक राकेश मिश्रले भने, ‘मन्त्रालयले आयो भनेको रकम पनि किसानको खातामा गएको छैन ।’

उद्योगको खातामा भएको पैसा देखाएर आन्दोलन स्थगन गर्न दबाब दिएको उनको बुझाई छ । ‘तर, सबै ९० करोड नै बक्यौता उठाएर मात्रै किसान घर जानेवाला छन्’, मिश्र भन्छन्, ‘फेरि यहाँ त किसानको हिसाब र सरकारले भनेको रकम पनि मिलेको छैन ।’

शान्तिपूर्ण आन्दोलन र बार्तालाई संगै अगाडि बढाएर किसानको माग पुरा गर्न आफूहरु लागिपरेको मिश्रले बताए ।

२५ करोडको हिसाब अझै मिलेन

मंसिर २८ मा किसानले माइतीघरमा आन्दोलन सुरु गर्दा नै चारवटा मिलबाट ९० करोड रुपैयाँ बक्यौता पाउन बाँकी रहेको दावी गरेका थिए । तर, कानुनी अभिलेखमा ५५ करोड रुपैयाँ मात्र बक्यौता रहेको देखिएको उद्योग मन्त्रालयले जनायो ।

किसान आन्दोलन दोस्रो हप्तामा पुग्दा सरकारी हिसाब करिब १० करोड बढेर ६५ करोड हाराहारीमा पुगेको छ, तर किसानहरु यो मान्न तयार छैनन् । ‘सरकारी हिसाबमा २५ करोड जति गोलमाल भएको छ’, उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरिश्याम राय यादव भन्छन्, ‘यस्तो हिसाब हामी कसरी मान्न सक्छौं रु’

उद्योग मन्त्रालय पनि किसानको दाबी र सरकारी हिसाव फरक देखिएको बताउँछ । कानुनी रुपमा किसानले पेश गरेको दाबी र उद्योगहरुको विवरणका आधारमा मन्त्रालयले बक्यौता यकिन गरेको सहप्रवक्ता केसीले बताइन् । उनले भनिन्, ‘किसानहरुको माग दाबी सहि होला, तर अनौपचारिक लेनदेनको हिसाब मन्त्रालयसँग हुँदैन ।’

नमिलेको हिसाब मिलाउन अध्ययन गर्न किसान र सरकारी प्रतिनिधि सम्मिलित कार्यदल गठन हुने उनले बताइन् । किसान र सरकारी टोलीबीच सोमबार वार्ता हुने बताइए पनि सरकारी तयारी नपुगेको भन्दै स्थगित भएको छ । स्रोत ः अनलाईन खबर

VIEWS: 649