भोजपुरमा शुरुभयो व्यावसायिक तितेपातीखेती

Friday, December 18th, 2020 |

 

भोजपुर ३ पौष

जिल्लामा पहिलोपटक भुवादार जापानी तितेपातीको व्यावसायिक खेती शुरु भएको छ ।

थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका छन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको शुरुवात गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याई करिब दुई रोपनी क्षेत्रफलमा आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले बताए । तीतेपातीलाई प्रत्येक १५ देखि २० दिनमा सङ्कलन गर्न सकिने कृषक राईले बताए । कच्चा पदार्थको रूपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा बिक्री हुने उनको भनाइ छ । कृषक राईका अनुसार उनिहरुले गत भदौ महिनाबाट तीतेपातीको खेती शुरु गरेका हुन्, । आफुहरुले ्शुरुमा आठ हजार बिरुवा लगाएको र यसको कच्चा पदार्थ प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री हुने उनिहरुको बुझाई छ ।

डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बाँदरलगायत अन्य वन्यजन्तुको कारण स्थानीय बसाइँ सर्दा धेरै जमिन बाँझिदै गएकाले तीतेपाती खेतीलाई विस्तार गर्न सके स्थानीयवासीको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ ।

यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर वैकल्पिक खेतीको रूपमा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए । प्रमुख घिमिरेले भने, ‘दुई युवाले तीतेपातीको व्यावसायिक खेती थाल्नुभएको रहेछ, आज हामीले यसको अनुगमन गरेका छौँ, अब यसको उत्पादन तथा बजारीकरण हेरेपश्चात अन्य ठाउँमा पनि पकेट क्षेत्र बनाएर विस्तार गर्ने हाम्रो योजना छ, जसले बाँझो जमिनलाई आयमूलक बनाउन सहयोग पुग्ने छ ।’

जिल्लामा पहिलोपटक खेती शुरु भएकाले आफू पनि यसको खेतीमा लाग्ने तयारीमा रहेको स्थानीय इन्द्रबहादुर कार्कीले बताए ।

कार्कीले भने, ‘तितेपातीको खेती भइरहेको ठाउँमा गएर मैले पनि अनुगमन गरेँ, यसको लगाउने तरिका तथा अन्य प्राविधिक ज्ञानको विषयमा पनि जानकारी लिएँ, वन कार्यालयले पनि चासो लिएकाले मैले पनि खेती विस्तार गर्ने तयारी गरेको छु, वास्तवमा यसले बाँझो जमिनलाई प्रयोगमा ल्याउने देखियो, एकदम उपयोगी पनि लाग्यो ।’

धेरै मानिसहरु अन्यत्र जाँदा खेतीयोग्य जमिन बाँझिदै गएकाले यसको विस्तारमा सहयोग गर्ने वडा कार्यालयले जनाएको छ । तीतेपाती खेतीलाई राम्रो ढङ्गले आयआर्जनमा जोड्न सके बाँझो जमिनसमेत प्रयोगमा आउने कार्यालयको भनाइ छ । नमूनाको रूपमा खेती शुरु भएकाले यसको उत्पादन तथा बजारलाई हेरेर अन्य कृषकलाई समेत प्रोत्साहन गर्ने वडाध्यक्ष प्रेमकुमार राईले बताए । स्रोत ःरासस

VIEWS: 1024