‘माफियाको गुलियोमा सरकार भुलियो’ भन्दै उखु किसान सडकमा
काठमाडौँ २८ मङसीर
सरकारले गत पौष १६ गते गरेको सम्झौता पुरा नभएपछि सर्लाहीका उखु किसान फेरी काठमाडौं आइपुगेका छन् । उनिहरुलाई चिनी मिलले दिने भनेको वक्यौता रकम सरकारले दिलाइदिने आश्वासन गत पौषमा प्राप्त भएपछि घरफर्किएका उखु किसान आइतबारदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्दै सडकमा उत्रेका हुन् ।
चिनी मिल सञ्चालकले दिनुपर्ने वक्यौता रकम नदिएपछि यसअघि पनि किसानले काठमाडौंमा आन्दोलन गरेका थिए । सरकारले उक्त रकम उठाइदिने बाचा एक वर्ष अगाडि नै गरेको थियो । तर बाचा पूरा नभएपछि उनीहरुले आइतबारदेखि फेरि माइतीघर मण्डलामा धर्ना दिन सुरु गरेका छन् ।
किसानहरु ‘उखुबाट बन्छ चिनी चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो,’ ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सोनो छ देश, ठूलो छ सरकार, अटेन किसान’ जस्ता किसानको समस्या उजागर गर्ने ब्यानरसहित प्रशर्नमा उत्रिएका हुन् ।
यसपटक उनीहरुको माग गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न प्रर्दशन गरेका हुन् । यो माग पूरा गराउन माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए ।
यसबाहेक नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका कार्यक्रम पनि आयोजना गर्ने तयारी किसानहरुको तयारी छ ।