३ वटा प्रदेशमा उम्मेदवारी दर्ता हुँदै

Sunday, June 18th, 2017 |

दोस्रो चरणको निर्वाचन

४ असार, दोस्रो चरणको निर्वाचन अन्तर्गत ३ वटा प्रदेशको निर्वाचनका लागि आईतवार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मनोनयन दर्ता हुने भएको हो । निर्वाचन आयोगका अनुसार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । सुरक्षाकर्मीले शान्ति सुरक्षा कायम गर्ने कुरामा आयोग विश्वस्त रहेको उनको भनाई छ । तराईका जिल्लामा राष्ट्रिय जनता पार्टीबाट र पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपा माओवादीलाई सुरक्षा निकायले सुरक्षा चुनौतिका रुपमा लिएका छन् ।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारेपछि तीनवटा प्रदेशमा असार १४ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि बिना चुनावमा भाग लिन नसक्ने भन्दै आमहडताललगायतका आन्दोलन थालेपछि सरकारले प्रदेश नम्बर २ का ८ जिल्लाका स्थानीय तहको निर्वाचन सारेको हो ।
प्रदेश नम्बर १ मा एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका सहित १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन् ।

VIEWS: 80