प्रशोधन सिक्दै किवी महोत्सवको तयारी
१३ पुष, दोलखा । फलफुलको राजा मानिने किवीको उत्पादन बढ्दै गएपछि दोलखामा त्यसको प्रशोधनका लागि तयारी थालिएको छ । किवीफलबाट अन्य परिकारहरुको उत्पादन तथा प्रशोधन सिक्दै कृषकहरु महोत्सवको तयारीमा जुटेका हुन् । कृषकहरुलाई किवीबाट बन्नसक्ने वाईन, जाम, माडा, क्याण्डी, स्क्वास लगाएतका परिकार उत्पादन प्रक्रियाबारे सैद्धान्तिक प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास गराईएको छ । त्यसका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको किवीजोन कार्यालय दोलखाले तीन दिने किवी फल खेती तथा प्रशोधन सम्बन्धि तालिम संचालन गरेको हो ।
तालिमका क्रममा तयार पारिएका किवीका विभिन्न परिकार बुधवार देखि सुरु हुने किवी महोत्सवमा प्रदर्शनीमा राख्ने तयारी छ । गौरीशंकर गाउँपालिकाका किवी कृषक मिन बहादुर कार्कीले प्रशोधन सिकेपछि फल मात्रै बेच्नुपर्ने अवस्था नरहेको भन्दै उत्पादनलाई थप बिस्तार गर्दै जाने बताए । दोलखामा बार्षिक ३ मेट्रिकटन बरावर किवी उत्पादन हुने किवी जोन कार्यालयको अनुमान छ ।
किवी जोन कार्यालय दोलखाका प्रमुख, बरिष्ठ कृषि विकास अधिकृत मोहन खतिवडाले किवी व्यवसायलाई उद्योगको रुपमा विकास गर्न प्रशोधन सम्बन्धि तालिम दिन थालिएको बताए । किवीको मुल्य घटेपनि कृषकलाई घाटा हुने अवस्था छैन, त्यसैले यसलाई उद्योगको रुपमा विकास गर्नुपर्छ, यसको प्रवद्र्धनका लागि महोत्सवको आयोजना पनि गरिएको छ, उनले भने ।
जिल्लाका कृषक किवी खेतीतर्फ आकर्षित छन् । तीन दिने तालिममा जिल्लाका करिव दुई दर्जन अगुवा किवी कृषक सहभागि थिए । तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले किवी व्यवसायलाई कृषि पर्यटनको रुपमा अघि बढाउन किवी महोत्सव गर्न लागिएको र यसलाई सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।
किवीको उत्पादन र प्रशोधनलाई नमुनाको रुपमा विकास र विस्तार गर्न सबै सरोकारवालाहरुको ध्यान केन्द्रित हुनुपर्ने किवी जोन संचालक समितिकी अध्यक्ष उषा थापाको भनाई छ । जिल्लाको भिमेश्वर नगरपालिका, जिरी नगरपालिका, शैलुंग, कालिञ्चोक र गौरीशंकर गाउँपालिकाको विभिन्न क्षेत्रलाई किवी जोनमा सुचीकृत गरिएको छ ।
दोलखामा यहि पुष १६ गतेदेखि पहिलो पटक किवी महोत्सवको आयोजना हुँदैछ । भ्रमण बर्षको शुभारम्भ गर्नेगरी महोत्सव आयोजना गरिएको हो । महोत्सवमा पर्यटकहरुलाई किवीको कोशेली दिने र खानाको परिकारसहित किवीको विशेष स्वाद चखाउने आयोजकको तयारी छ ।