मन्त्री गुरुङले गरे जटिल अवस्थाकी सुत्केरीको उद्धार
१० पुष, दोलखा । दोलखा विगु गाउँपालिका वडा नम्वर ८ खोपाचागुकी एक गम्भिर अबस्थाकी सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । खोपाचागु निवासि निर्मल खड्काकी १७ वर्षिया श्रीमती सुस्मा श्रेष्ठ खड्कालाई जटिल अवस्थामा उद्धार गरी थप उपचारका लागि काठमाण्डौँ पठाईएको हो ।
सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल सल्यक्रिया गरिएकी उनको रक्तश्राव नरोकिएपछि अवस्था गम्भिर बनेको छ । उनलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
शल्यक्रियापछि आमाको अवस्था जटिल बनेपनि बच्चाको अवस्था भने सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
बुधवार दिउँसोदेखि सुत्केरी व्यथा सुरु भएपछि उनलाई खोपाचागु स्वास्थ्यचौकी भर्ना गरिएको थियो । तर लामो समयसम्म सुत्केरी हुन नसकेपछि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएको थियो ।