मन्त्री गुरुङलाई गृहजिल्लामा स्वागत ⁄ सम्मान लिन भ्याईनभ्याई
१३ मंसिर, दोलखा । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ गृहजिल्ला दोलखामा स्वागत र सम्मान ग्रहण गर्न व्यस्त भएका छन् । मन्त्रीमा नियुक्त भएपछि बुधवार पहिलोपटक गृहजिल्ला आएका मन्त्री गुरुङ आफ्नो स्वागत र सम्मानमा जिल्लाभर आयोजित कार्यक्रमहरुमा व्यस्त भएका हुन् ।
मन्त्रीलाई स्वागत सहित शुभकामना र बधाई दिन जिल्ला स्थित राजनीतिक दल, सरकारी निकायदेखि दर्जनौँ सामाजिक संघ संस्थाहरुले कार्यक्रमको आयोजना गरेका छन् । नेकपा दोलखा, जिल्ला सम्वयन समिति, भिमेश्वर र जिरी नगरपालिका सहितका प्रायः सबै स्थानीय तह, उद्योग बाणिज्य संघ लगाएतका संस्थाले गुरुङको भव्य स्वागत गरेका छन् ।
मन्त्री गुरुङ आफ्नो स्वागत÷सम्मान र अन्य बिविध कार्यक्रममा सहभागि हुन शनिवारसम्म गृहजिल्ला रहनेछन् । दोलखाबाट सर्वाधिक मतान्तर सहित प्रतिनिधिसभामा निर्वाचित सांसद गुरुङ हालै महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त भएपछि जिल्लाबासिले उनको भव्य स्वागत गरेका हुन् ।
मन्त्री गुरुङको यस्तो प्रतिवद्धता
स्वागत÷सम्मान कार्यक्रमहरुमा मन्त्री गुरुङले आफुले पाएको जिम्मेवारीको अधिकतम सदुपयोग गर्दै देखिनेगरी काम गर्ने बताउने गरेका छन् । परिणाममुखि कामको लागि कार्ययोजासहितको गृहकार्य अघि बढेको र त्यसको प्रभावकारी कार्यान्वयन गरिने उनको भनाई छ ।
नवनियुक्त मन्त्री गुरुङले दोलखाको ठुला विकासे परियोजनाहरु लामावगर सुरुङमार्ग, तामाकोशी तेस्रो जलविद्युत आयोजना, फिल्म सिटी, खरिढुंगा स्थित म्याग्नेसाईट संचालनमा ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताएका छन् ।