लापिलाङको बन्देथलीमा कालिञ्चोक गाउँपालिकाको एकिकृत सेवा केन्द्र

Thursday, November 7th, 2019 |

२१ कात्तिक, दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा, कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र सम्बन्धि बिवाद बृहत सर्बपक्षिय बहसबाट टुंगो लगाउनुपर्ने निष्कर्षमा पुगेको छ । गाउँपालिकाको केन्द्रसम्बन्धि बिवाद उत्कर्षमा पुगेपछि बसेको जिल्ला पार्टी हेडक्वार्टरको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

स्थायी केन्द्रको विषयमा निर्णयमा पुग्न नसकेपछि नेकपाले तत्कालको उत्पन्न समस्या समाधानका लागि आफ्ना जनप्रतिनिधिहरुलाई बैकल्पिक उपाय सुझाएको छ । नेताहरुका अनुसार स्थायी केन्द्र सर्बपक्षिय छलफलबाट टुंग्याउने गरी वडा नम्बर ५ स्थित बन्देथलीमा एकिकृत सेवा केन्द्र संचालनमा ल्याउन र अस्थायी केन्द्र वडा नम्बर ८ सुनखानीमै कायम राख्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएको हो ।

पार्टीले दिएको निर्देशन गाउँसभाबाट पारित भए गाउँपालिकाबाट नागरिकले पाउने प्रशासनिक कामकाजसहितको सेवा एकिकृत सेवा केन्द्रको रुपमा बन्देथलीबाट पनि प्रबाह हुनसक्नेछ । गाउँसभा र र कार्यपालिकाको बैठक समेत दुबै स्थानबाट संचालन गर्नसक्ने सुझाव नेकपाको सुझाव छ । कालिञ्चोक गाउँपालिकाको ९ वडा मध्ये २ वडा बाहेक सबै वडाका जनप्रतिनिधिहरु नेकपाबाट निर्वाचित छन् ।

पार्टीको निर्देशनपछि शुक्रवारका लागि बोलाईएको विशेष गाउँसभापनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ लाई भिमेश्वर नगरपालिकामा गाभ्न सहमति दिने, गाउँपालिकाको कार्यालय लापिलांगको बन्देथलीबाट संचालन गर्ने लगाएतका एजेन्डामा छलफल गर्न विशेष गाउँसभा बोलाईएको थियो । नेकपा कालिञ्चोक गाउँपालिकाका नेता र निर्वाचित जनप्रतिनिधि प्राय सबैले गाउँपालिका फुटाउन नहुने राय व्यक्त गरेका छन् ।

गाउँपालिकाको अस्थायी केन्द्रबाट संचालित कार्यालयबाट महत्वपुर्ण सामान र कागजात कब्जा गरेर बन्देथली पुर्याईएपछि बिवादले उग्ररुप लिएको थियो । नेकपाको निर्देशनसँगै उत्पन्न बिवाद तत्कालको लागि मत्थर हुने देखिएको छ ।

VIEWS: 1170