छात्रवृत्ति पाउँदा गरिब तथा जेहेन्दार विद्यार्थी उत्साहित
६ कात्तिक, दोलखा । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६, का १३ बर्षिय टिकाराम थामी विद्यालय जान निकै असहज महसुस गर्थे । बलम्वु आधारभुत विद्यालय कक्षा ६ मा अध्ययनरत उनी धेरै पटक स्कुलबाट निराश भएर घर फर्किनुपरेको सुनाउँछन् । किनकी परिवारको आर्थिक अबस्था कमजोर भएकै कारण विद्यालयमा पठनपाठनका लागि पर्याप्त स्टेशनरी लगाएतका सामान नहुँदा उनको मन खिन्न हुन्थ्यो ।
यसैगरी भिमेश्वर नगरपालिका २ स्थित भिम मावि कक्षा ११ मा अध्ययनरत रोशन योगी पनि त्यस्तै समस्याबाट गुज्रिरहनुपरेको थियो । माथिल्लो कक्षा चढ्दै जाँदा खर्च झन बढ्ने हुँदा उनमा बचैन बढ्दै थियो । भिनपा २ स्थित राजकुलेश्वर आधारभुत विद्यालयमा अध्ययनरत नम्रता शिवाकोटीको पनि अवस्था समस्याग्रस्त थियो ।
तर दोलखा सदरमुकाम चरिकोट स्थित एक संस्थाले उनीहरुको पढाईमा सहयोग गर्ने भएपछि उनीहरुको मनस्थिति बदलिएको छ । पढाईखर्चमा धेरै समस्या झेल्नु नपर्ने भएपछि उनीहरु उत्साहित बनेका छन् । पढाईमा थप मिहिनेत गर्ने जाँगर पलाएको छ उनीहरुमा।
प्रेम पुर्ण प्रताप फाउण्डेशन नेपालले उनीहरुलाई छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान गरेेछि उनीहरूमा खुसियाली छाएको हो । छात्रवृत्ति स्वरुप ३० हजार रुपैयाँ प्राप्त गरेका रोशनले खुसि व्यक्त गर्दै छात्रवृत्तिको सदुपयोग गर्ने बताउँदै थप मिहिनेत गरेर पढ्ने बताए ।
यसैगरी राजकुलेश्वरबाट नम्रता शिवाकोटी, बलम्वुबाट टिकाराम थामी, भिम माविबाट निरुता पाठक र सञ्जिला थामीले पनि जनहि ७ हजारका दरले छात्रवृत्ति सहयोग पाएका छन् । संस्थाले दोलखा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि डवल पाण्डेले विद्यार्थीहरुलाई छात्रवृत्तिको चेक हस्तान्तरण गरे । सो क्रममा पाण्डेले फाउण्डेशनले छोटै अवधिमा समाजसेवा र परोपकारको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए ।
फाउण्डेशनले यसअघि दोलखा जिल्लाकै बैत्यश्वर गाउँपालिका ८ स्थित क्षेत्रावती माविमा अध्ययनरत करिना मिजार, रञ्जिता विक, निकेश दासलाई पनि केही महिना अघि मात्रै जनही ७ हजारका दरले छात्रवृत्ति प्रदान गरेको थियो । भिम माविका प्रधानाध्यापक सुन्दर खड्काले फाउण्डेशनले गरेको सहयोगले विद्यार्थीहरुलाई निकै राहात मिलेको बताए ।
चितवन जिल्लाको १२ जना विद्यार्थीहरुलाई पनि फाउण्डेशनले छात्रवृत्ति सहयोग गर्दै आएको छ । संस्थाले विजयादशमी, शुभदिपावली, नेपाल सम्बत, छठ, उद्यौली, ल्होसार पर्वहरुको अवसरमा आयोजना गरेको कार्यक्रम शुभकामना आदानप्रदान समेत गरियो ।
संस्थाकी उपाध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दोलखाका कार्यबाहक अध्यक्ष गोपाल पाण्डे, पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामा, रिता रिमाल, गायत्री आचार्य, देवी गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हाल अमेरिका बस्ने दोलखाली चेली, संस्थाको संरक्षक पद्मा प्रधानको पहल र सहयोगमा प्रेम पुर्ण प्रताप फाउण्डेशनले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।