कालिञ्चोक गाउँपालिकाको कार्यालय सारिएको दावी

Monday, October 21st, 2019 |

३ कात्तिक, दोलखा । दोलखा कालिञ्चोक गाउँपालिकाको कार्यालय सारिएको दावी एउटा पक्षले गरेको छ । गाउँपालिकाको अस्थायी केन्द्र वडा नम्बर ८ स्थित सुनखानीमा रहेको कार्यालय वडा नम्बर ५ को बन्देथली सरेको दावी गरिएको हो । गाउँपालिकाको केन्द्र सार्ने निर्णय यसअघिनै भैसकेको भन्दै कार्यालयको महत्वपुर्ण कागजात लगाएतका सामान पनि सार्ने काम भएको उक्त पक्षको दावी छ ।

आईतवार राती सुनखानी कालिनाथान स्थित गाउँपालिकाको कार्यालयमा रहेको महत्वपुर्ण कागजात लगाएतका सामान लापिलाङको बन्देथली ओसार्ने काम भएको बताईएको छ । स्थानीयका अनुसार केही जनप्रतिनिधि सहितको समुहले गाउँपालिका कार्यालयको सामान लिएर गएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मान बहादुर राईले घट्नाबारे जानकारी आएपछि प्रहरी त्यसतर्फ गएको र स्थानीय सरकारसँगको समन्वयमा काम गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले घट्नाबारे आवश्यक अध्ययन भैरहेको प्रतिक्रिया दिए । प्रशासनले स्थानीय सबै सरोकारवालाहरुसँग छलफल÷समन्वय गरेर उपयुक्त निर्णयमा पुग्न सहजिकरण गर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष विन कुमार थामीले जनप्रतिनिधि र सर्वसाधरणको सहयोगमा गाउँपालिकाको केन्द्रबारे यसअघि भएको निर्णय कार्यान्वयन भएको जिकिर गरे । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित बन्देथलीमा स्थानान्तरण भएको र अव सोही स्थानबाट कार्यालय संचालन हुने उनको दावी छ । गाउँपालिकाले गठन गरेको केन्द्र निर्धारण आयोग (समिति) को सिफारिस, गाउँसभाको दुईतिहाईको निर्णयका आधारमा केन्द्र सारिएकाले यो कानुन र विधिसम्मत छ, उनले भने । उनले गाउँसभाको निर्णय प्रदेशसभामा पठाईएपनि लामोसमयसम्म निर्णय नआएकाले स्थानीय जनप्रतिनिधि र सर्वसाधरणले स्वतस्फुर्त कदम चालेको बताए ।

यता गाउँपालिका उपप्रमुख कालिका पाठकले भने रातारात डकैत शैलीमा कार्यालयको सामान लगिएको र यो मान्य नभएको प्रतिक्रिया दिईन् । बिधि, प्रक्रिया बिपरित गरिएको कामको उचित छानविन हुनुपर्ने र यथास्थानबाट कार्यालय संचालन हुने उनको भनाई छ ।

VIEWS: 2141