दोलखाका एक दर्जन भुमिहिनलाई लालपुर्जा

Friday, September 27th, 2019 |

१० असोज, दोलखा । दोलखाका एक दर्जन भुमिहिन परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाउने भएका छन् । भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दोलखाका १२ भुमिहिन घरपरिवारलाई जग्गाको स्वामित्व दिलाउनेगरी निर्णय गरेको हो । जग्गाधनीपुर्जाका लागि सुचीकृत भएकाहरुमा भिमेश्वर नगरपालिकाका ३ जना, बैत्यश्वर गाउँपालिकाका ४ जना, कालिञ्चोक गाउँपालिकाका ४ जना र शैलुङ गाउँपालिकाका १ जना रहेका छन् ।

बैत्यश्वर गाउँपालिका वडा नम्वर ६ का सुरेन्द्र सार्की, कृष्ण बहादुर सार्की, काले दमाई, बेताले सार्की, भिमेश्वर नगरपालिका –८ मान बहादुर तामाङ, चन्द्रमाया खत्री, भिमेश्वर नगरपालिका–३ का हरि कुमार श्रेष्ठ, कालिञ्चोक गाउँपालिका–४ का बिसु थामी, वडा नम्वर ७ का मान बहादुर खवास, धन बहादुर खवास, वडा नम्वर ९ का कुमार दमाई र शैलुङ गाउँपालिका–८ का विकास थापाले आवश्यक प्रक्रिया पुरा गरेपछि जग्गाधनीपुर्जा प्राप्त गर्न सक्नेछन् ।

आवश्यक छानविन र अध्ययनपछि मन्त्रालयले १२ घरपरिवारलाई भुमिहिनको रुपमा पहिचान गरेको हो । राष्टिय भुमिअधिकार मञ्चकी केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नम्बर ३ की ईन्चार्ज पार्वती थामीका अनुसार स्थानीय तहको सिफारिसपछि उनीहरुले जग्गा खरिदका लागि उनीहरुले एकमुष्ठ २ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन् । स्थानीय स्तरमा जग्गा खरिद गरेपछि उनीहरुले निजी आवास पुर्ननिर्माणका लागि ३ लाख रुपैयाँ अनुदान समेत प्राप्त गर्न सक्नेछन् ।

धेरै भुमिहिनहरु पुर्ननिर्माण प्राधिकरणको लाभग्राही सुचीमा परेपनि लालपुर्जा नभएकै कारण उनीहरुले निजी आवास पुर्ननिर्माण गर्न सकेका छैनन् ।

VIEWS: 387