गाउँपालिका धाउनुपर्ने काम घरआगनमै, सेवाग्राही दंग

Sunday, September 15th, 2019 |

२९ भदौ, दोलखा । कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ स्थित उपभोक्ता समितिकी अध्यक्ष गोमा थामी योजना सम्झौताका लागि गाउँपालिका कार्यालय जाने तयारीमा थिईन् । तर योजना सम्झौता आईतवार सहज रुपमा आफ्नो गाउँमै भएपछि उनी दंग परिन् । विकासे योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको टोली आईतवार उनको गाउँमै पुगेको थियो ।

योजना सम्झौताका लागि पटक पटक धाउनुपर्ने, झन्झट व्यहोर्नुपर्ने, टाढा पुग्नुपर्ने बाध्यताबाट मुक्त हुँदा गोमा प्रसन्न थिईन् । ‘यसरी सेवा पाईन्छ भनेर सोचेको पनि थिईन, उनले भनिन्, सजिलै आफ्नै गाउँमा काम हुँदा सरकार घरआगनमै आएजस्तो लाग्यो ।’

योजना सम्झौताका लागि पुगेकी उपभोक्ता समितिकी अर्की अध्यक्ष गिता थामीले पनि योजना सम्झौताको सेवा गाउँमै लिन पाएकोमा खुसि व्यक्त गर्दै स्थानीय सरकारको अर्थ र महत्व बुझ्न थालेको प्रतिक्रिया दिईन् । गाउँपालिकाले आफ्नो सेवा छिटो छरितो ढंगले सेवाग्राहीमाझ पुर्याउन आईतवार वडा नम्वर ९ सुन्द्रावतीमा विकास शिविर आयोजना गरेको हो ।

विकास शिविर नाम दिईएको कार्यक्रमको ३ नम्बर प्रदेश सभाका सांसद पशुपति चौलागाईले उद्घाटन गरे । कार्यक्रमलाई सम्वोधन गर्दै उनले अरुले कालिञ्चोक गाउँपालिकाले सुरु गरेको नयाँ काम अरुका लागि पनि सिकाई हुनसक्ने बताए । कमीकमजोरी सच्याएर पुर्वाधार विकास, उत्पादन र सुशासन कायम गर्न सकेमात्रै जनताले संघियताको अनुभुति गर्नसक्ने उनको भनाई छ ।

शिविरमा आईतवार मात्रै दुई दर्जन बढि उपभोक्ता समितिले योजना सम्झौता गरेका छन् । पुष महिना भित्रै कार्यान्वयन गरी सक्नेगरी योजना सम्झौता भएका हुन । दोस्रो चौमासिकमा योजना सम्झौता गरेर तेस्रो चौमासिकमा हतारमा योजना कार्यान्वयन गर्ने परिपाटी अन्त्य गर्दै कालिञ्चोक गाउँपालिकाले भदौ महिनामै योजना सम्झौताको काम थालेको हो ।

शिविरमा गाउँपालिका प्रमुख विन कुमार थामी, उपप्रमुख कालिका पाठक, वडा नम्वर ९ का अध्यक्ष राम प्रसाद मैनाली, प्रमुख प्रशासकिय अधिकृत माधव घिमिरे, ईन्जिनियर नारायण शिवाकोटी सहित जनप्रतिनिधि र कर्मचारीको टोली खटिएको थिए ।  कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा दोलखाका सचिव गोपाल पाण्डे, काग्रेस महासमिति सदस्य गोपिलाल थामी लगाएतले संघियताको मर्म अनुसारको जनतालाई सेवा दिने कार्यक्रम गाउँपालिकाले बनाएको भन्दै प्रसंसा गरे ।

ईन्जिनियर नारायण शिवाकोटीले विकास शिविर ९ वटै वडामा संचालन हुने र त्यसलाई प्रभावकारी बनाउन आर्थिक बर्षभरीको (कार्यतालिका) बार्षिक खरिद योजना तयार गरिएको जानकारी दिए । अधिकांश विकासे योजना असारमा कार्यान्वयन गरिँदा काम गुणस्तरहिन हुने, आर्थिक अनियमितता व्यापक हुने समस्या भैरहेका बेला विकास शिविरले उक्त समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ ।

VIEWS: 595