दोलखा बोच कृषिको विरुवा पाउन हेटौँडा धाउनुपर्ने बाध्यता
१८ भदौँ, दोलखा । दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ८, बोच स्थित शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रबाट उत्पादन हुने विरुवा कृषकहरुले सहज रुपमा पाउन सकेका छैनन् । केन्द्रबाट उत्पादन हुने किवी लगाएत फलफुलका बिरुवा पाउन ३ नम्बर प्रदेशको राजधानी हेटौँडा पुग्नुपर्ने बाध्यता देखिएको हो ।
हेटौँडा स्थित क्षेत्रिय कृषि निर्देशनालयबाट सिफारिस लिएर आएमात्रै कृषक र कृषकसँग सम्बन्धित संघ संस्थाले विरुवा प्राप्त गर्न सक्नेछन् ।
केन्द्रबाट सहज रुपमा बिरुवा पाउन नसकेपछि कृषकहरु महंगो मुल्य तिरेर निजी नर्सरीहरुबाट बिरुवा खरिद गर्न वाध्य छन् । कृषि क्षेत्रमा समेत काम गरिरहेको ईटिसि दोलखाका कार्यक्रम संयोजक चण्डी श्रेष्ठले आफ्नो संस्थाले कृषकहरुलाई अनुदानमा किविको बिरुवा वितरण गर्ने कार्यक्रम राखेपनि सरकारी फर्मबाट सहज र सर्वसुलभ रुपमा विरुवा पाउन नसकेको गुनासो गरे ।
किवी बिरुवाका लागि बोच कृषिमै पुगेर आग्रह गरिएपनि क्षेत्रिय कृषि निर्देशनालयको सिफारिस बिना दिन नसक्ने जवाफ पाईयो, उनले भने । जिल्ला स्थित अन्य कृषक र कृषकसँग सम्बन्धित समुह, सहकारी र निजी फर्म संचालकहरुले पनि जिल्लामा उत्पादन हुने विरुवा स्थानीयले नै सहज रुपमा पाउन नसकेकोप्रति दुखेसो पोखेका छन् ।
बिरुवाका लागि हेटौँडा पुग्नुपर्ने भएपछि दोलखा र आसपास जिल्लाका कृषकहरु बढि मारमा परेका छन् । सिफारिसका लागि हेटौँडा पुगेर फर्किदा ३ दिनबढि समय लाग्नुका साथै खर्चिलो पनि हुन्छ ।
केन्द्रका प्रमुख रविन्द्र थापाले भने कृषि विकास मन्त्रालय, कृषि निर्देशनालय मातहतको निकाय भएको हुनाले माथिल्लो निकायको सिफारिस आवश्यक भएको प्रतिक्रिया दिए । बिरुवा माग र आपुर्तिको लेखाजोखा निर्देशनालयले नै गर्ने भएकाले कृषकको सहजताकै लागि यस्तो व्यवस्था गरिएको हुनसक्छ, उनले भने ।
शितोष्ण फलफूल रुटस्टक विकास केन्द्र बोचले चालु आर्थिक वर्ष ६ हजार भन्दा बढि विरुवा बितरण गर्दैछ । केन्द्रले यो वर्ष तीन जिल्ला ५ वटा क्लष्टरमा २० रोपनी क्षेत्रफलमा किविको व्यवसायिक खेती गर्ने कृषक संघ संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा विरुवा बितरणका लागि सुचना जारी गरेको छ ।