नेकपा जिल्ला कमिटीको बैठकमा सदस्यहरुलाई बोल्न बन्देज
बैठकको औचित्य र निर्णयको बैधानिकता माथि प्रश्न
१३ भदौ, दोलखा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी दोलखाको पुर्ण बैठकमा सदस्यहरुलाई नै बोल्न प्रतिबन्ध लगाइएको छ । पार्टी एकता पछि हालै दोस्रोपटक बसेको बैठकमा बोल्न नदिईएपछि पार्टीको आन्तरिक लोकतन्त्रमाथी सदस्यहरूले गम्भीर प्रश्न उठाएका छन् ।
कम्युनिस्ट पार्टीमा बैठकहरुमा हुने बहसलाई आन्तरिक जनवादको अभ्यास भनिन्छ । त्यसको प्रयोग गर्न नपाएकोमा सदस्यहरुले आक्रोश व्यक्त गर्दै बैठक समेत छाडेर हिडे ।
बैठक स्रोतका अनुसार नामावली सहित ४५ सदस्यीय सचिवालय र १८ बिभागको कार्यबिभाजन सुनाईएपछि त्यसलाई जस्ताको तस्तै पास गर्न भनियो । धेरै सदस्यहरुले छलफलै नगरी प्रस्ताव कसरी पास हुन्छ भन्दै बोल्न खोजेका थिए । तर १ सय ४५ जना सदस्य मध्ये ९ स्थानीय तहबाट २ जनाका दरले १८ जनालाई मात्र बोल्न दिईयो ।
बैठकमा धारणा राख्ने अधिकांश बक्ताहरुले कम्युनिस्ट पार्टी भित्र जनवादको उच्चतम प्रयोग गर्ने प्रणाली हराउदै गएको भन्दै नेेतृत्वको ध्यानाकर्षण गराएको स्रोतले बतायो । बिशेषगरि सचिवालय सदस्यहरु हिरा थोकर, बाबुकाजी कार्की, धर्मेन्द्र मोक्तान, कमल श्रेष्ठ, राम पाण्डे, हरिंंबंश चौलागाईं, नवीन जिरेल, सुन्दर लाामिछाने लगाएतले उक्त बिसयमा जोड दिए ।
जवाफमा नेताहरुले समय अभावलाई कारण जनाएपछि सदस्यहरुले बरु २/३ दिनसम्म बैठक राख्न माग गरे । बैठकमा बोल्न नपाएपछि सार्बजनिक रुपमा बोल्नु बाध्यता हुने सदस्यहरुको भनाई छ ।
सदस्यहरुको असन्तुष्टिका बिच सचिवालय, बिभाग तथा स्थानीय तहमा जिम्मेवारी दिने प्रस्तावको पक्षमा हलमा खासै ताली नबजेपनी अनुमोदन गरिएको बताईएको छ ।
विधि र मापदण्डलाई आधार बनाउनु भन्दापनि नेताहरुको आसेपासेलाई जिम्मेवारी दिईएको भन्दै कतिपयले जिम्मेवारी पनि आविस्कार समेत गरेका छन् ।
कागताली र भजनमण्डलिको तरिकाले पार्टी चलाउन खोजिएको आरोप लागेपछी नेकपा जिल्ला कमिटी बैठकको औचित्य र निर्णयको बैधानिकता माथि प्रश्न उठेको छ ।
बैठकमा नेकपा ३ नम्बर प्रदेश सह इन्चार्ज हित बहादुर तामाङ, सचीव आनन्द पोखरेल, केन्द्रिय सदस्यहरु पशुपति चौलागाईं, पार्बत गुरुङ, देबि खड्का, रचना खड्का लगाएको उपस्थिति थियो ।