एसईई परिक्षामा उत्कृष्ट थामी समुदायका विद्यार्थीहरुलाई सम्मान

Thursday, August 22nd, 2019 |

३२ साउन, दोलखा । नेपाल विद्यार्थी संघ दोलखाले एसईई परीक्षा २०७५ मा उत्कृष्ट नतिजा ल्याउने थामी समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ । दोलखा सदरमुकाम चरिकोटमा भव्य कार्यक्रमको आयोजना गरी विद्यार्थी संघले तीन दर्जन बढि विद्यार्थीहरुलाई सम्मान गरेको हो । दोलखा जिल्लाभरबाट उत्कृष्ट नतिजा ल्याउने थामी समुदायका विद्यार्थीहरुलाई सम्मान गरिएको कार्यक्रमको नेपाल थामी समाजका केन्द्रिय महासचिव तथा पत्रकार महासंघ दोलखाका उपाध्यक्ष लक्ष्मण थामीले उद्घाटन गरे ।

एसईई परिक्षामा दोलखा जिल्लाबाट बी ग्रेड भन्दा माथि अंक ल्याउने विद्यार्थीहरु सम्मानित भएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै कालिञ्चोक गाउँपालिकाका प्रमुख विन कुमार थामीले अवको शिक्षा गुणस्तरिय जिवनका लागि हुनुपर्ने भन्दै सर्टिफिकेट भन्दा पनि जिवन र समाज परिवर्तन गर्नेगरी अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

यसैगरी थामी समाजका केन्द्रिय महासचिव लक्ष्मण थामी, केन्द्रिय सल्लाहाकार विच्छिकुमार थामी, दोलखा जिल्ला अध्यक्ष नितेश कुमार थामी, सचिव देविका थामी, दोलखाका पुर्व अध्यक्ष भक्तसिंह थामी, जनजाति पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, भिमेश्वर नगरकार्यपालिका सदस्य रामकृष्ण थामी, यापती सोनारी संरक्षण तथा सम्वद्र्धन समाजका अध्यक्ष भानुदास थामी, विद्यार्थी संघका पुर्व अध्यक्ष विकास थामी, मौसमी थामी लगाएतले आफ्नो सुन्दर भविष्य निर्माणका लागि कठोर मिहिनेत गरेर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

थामी विद्यार्थी संघ दोलखाका अध्यक्ष जानकी थामीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई खदा र प्रमाणपत्र सहित सम्मान गरियो । अध्यक्ष जानकी थामीका अनुसार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि उर्जा र प्रोत्साहन मिलोस् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक भविष्य उज्ज्वल बनाउने विषयमा अन्तरक्रिया भएको थियो भने कलाकारहरुले सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गर्ने प्रेम पुर्ण प्रताप फाउण्डेशन, नेपाल, ईटिसि फासेलुङ लगाएतका संस्थालाई पनि कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

VIEWS: 542