मेशिनरी औजारले बढायो कालिञ्चोक गाउँपालिकाको आम्दानी
२१ साउन, दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले गत आर्थिक वर्षमा आफ्नो मेसिनरी औजारबाट १६ लाख भन्दा बढि आम्दानी गरेको छ । गाउँपालिकाको स्वामित्वमा रहेको स्काभेटर, जेसिवी ब्याकलोडर र ट्रिपर प्रयोगबाट १६ लाख ३७ हजार ७३ रुपैयाँ बरावर आम्दानी भएको हो ।
जसमा सबैभन्दा बढि स्काभेटर प्रयोगबाट ८ लाख २८ हजार ४३ रुपैयाँ आम्दानी भएको छ । यस्तै ब्याकलोडर जेसिविबाट ४ लाख १९ हजार ३० रुपैयाँ र ट्रिपरबाट ३ लाख ९० हजार रुपैयाँ आम्दानी भएको मेसिनरी औजार व्यवस्थापन समितिका सह–संयोजक दान बहादुर थामीले जानकारी दिए । उनका अनुसार उक्त रकम मेसिनरी औजारमा प्रयोग गरिने ईन्धन लगाएतका शिर्षकमा लाग्ने खर्च बाहेकको खुद आम्दानी हो ।
मेसिन किनेर प्रयोग नगरेको भन्दै आलोचना भैरहेका बेला गाउँपालिकाले पहिलो बर्षनै राम्रो आम्दानी गरेको हो । मेसिनरी औजारहरुको प्रयोगसँगै अव निजी क्षेत्रमा जाने केही रकम गाउँपालिकाकै आम्दानीको रुपमा जम्मा हुनेछ । गाउँपालिकाले मेसिनरी औजार प्रयोग गरेबापत ईन्धन बाहेक प्रतिघण्टा २ हजार ३४ रुपैयाँको दररेट निर्धारण गरेको छ ।
गाउँपालिका प्रमुख विन कुमार थामीले गाउँपालिकाको विकास निर्माणलाई सहज, सुलभ, गुणस्तरिय र प्रभावकारी बनाउन मेसिनरी औजारको अधिकतम प्रयोग भैरहेको बताए । ‘गाउँपालिकाको आफ्नै मेसिन भएपछि विकास निर्माणको काममा धेरै सहजता आएको छ, उनले भने, गाउँपालिकाको यो सम्पतिलाई आगामी दिनमा थप व्यबस्थित रुपमा प्रयोगमा ल्याईने छ ।’
गाउँपालिकाले आफ्नै स्वामित्वमा मेसिनरी औजार खरिद गरी उपभोक्ता समिति मार्फत विकास निर्माणका काममा प्रयोग गर्ने गरेको छ ।
आर्थिक वर्षको दोस्रो चौमासिक पछि विकास निर्माणको काम सुरु हुने भएकाले त्यसपछि मेसिनरी औजारहरु बढि प्रयोगमा आउने व्यवस्थापन समितिको दावी छ । समितिका अनुसार केही व्यवस्थापकिय काम र विकास निर्माण कार्य पनि सुरु भैनसकेका कारण सुरुका केही महिना मेसिनरी औजार प्रयोगमा ल्याउन ढिलाई भएको हो । यसअघि कालिञ्चोक गाउँपालिकाले करोडौँका मेसिनरी औजार खरिद गरेपनि प्रयोग नभएको समाचार केही सञ्चारमाध्यममा आएको थियो ।
निजी क्षेत्रको मेसिनरी औजार प्रयोग गर्दा लागत बढि देखाउने, काम गुणस्तरिय नहुने जस्ता समस्या भैरहेका बेला स्थानीय तहको मेसिनले प्रतिस्पर्धा समेत बढाउन सक्ने समितिका पदाधिकारीको दावी छ ।
सडक सुचारु गराउन सहज
गाउँपालिकाको आफ्नो मेसिन भएपछि वर्षायाममा पहिरोका कारण अवरुद्ध भएका सडक सुचारु गराउन पनि सहज भएको छ । पहिरो पन्छाएर अवरुद्ध सडक तत्काल सुचारु गराउने व्यवस्था मिलाईएको थियो । जसबाट सर्बसाधरण यात्रुहरुले आवातजवतमा ठुलो समस्या झल्न नपरेको ६ नम्वर वडाका अध्यक्ष मानसिंह थामीले बताए । कालिञ्चोक गाउँपालिकामा पर्ने सुनखानी–साङवा सडक वर्षायाममा पहिरोका कारण अवरुद्ध हुँदा नागरिकले समस्या झल्दै आएका छन् ।