पहिरो प्रभावित क्षेत्रको दिर्घकालिन व्यवस्थापन गर्ने तयारी

Monday, August 5th, 2019 |

२० साउन, दोलखा । दोलखाका सांसद तथा नेताहरु सहितको टोली जिल्लाको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाँदैछ । अविरल बर्षासँगै जिल्लाको बिभिन्न स्थानमा गएको पहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षण, उद्धार तथा राहात र दिर्घकालिन व्यवस्थापनको पहलका लागि उक्त टोली गाउँ जान लागेको हो ।

जिल्लाका संघिय सांसद पार्वत गुरुङ, ३ नम्वर प्रदेश सभा सांसद पशुपति चौलागाई, सरस्वती बस्नेत लगाएतको टोली पहिरो प्रभावित क्षेत्र जाँदैछ । यसैगरी नेकपा केन्द्रिय सदस्य गंगा कार्की विश्व, प्रदेश नम्बर ३ का सचिव आनन्द प्रसाद पोखरेल लगाएत नेताहरुपनि पहिरो प्रभावित क्षेत्र जाँदैछन् ।

उक्त टोलीले आज गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ स्थित पहिरोको अति प्रभावित क्षेत्रको स्थलगत निरीक्षण÷अवलोकन गर्नेछ । यस्तै गौरीशंकर गाउँपालिकाकै वडा नम्वर ६ र ७, विगु गाउँपालिकाको चिलंखा लगाएत स्थानमा पनि सांसद सहितको टोली पुग्ने कार्यक्रम छ । पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि पिडित परिवारहरुलाई उचित राहात र दिर्घकालिन व्यवस्थापनका लागि पहल हुने बतार्ईएको छ ।

पुर्वराज्यमन्त्री देवी खड्का, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल सहितको टोलीले जुँगुको पहिरो प्रभावित क्षेत्र स्थलगत निरीक्षण गरिसकेको छ ।

राहात र व्यवस्थापनको पहल हुँदै
जुँगुका पहिरो पिडितहरुका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले आधारभुत राहात वितरण गरेर नजिकैको विद्यालयमा बस्ने व्यवस्था मिलाएको छ । जिल्ला देवी विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पहिरो पिडितहरुको दिर्घकालिन व्यवस्थापन र राहातका लागि सम्वन्धित निकायमा समन्वय र पहल भैरहेको जानकारी दिए ।

जिल्लाका ९ वटै स्थानीय तहहरुका जनप्रतिनिधिहरु समेत राहातका विषयमा छलफलमा जुटेका छन् । सरकारी तथा गैर सरकारी र व्यक्तिगत रुपमा समेत राहातका लागि प्रयासहरु भैरहेका छन् । दोलखा प्रदेशसभा १ नम्वर क्षेत्रका सांसद विशाल खड्काले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहित राहात कोषको घोषणा गरेका छन् ।

प्राबिधिक टोली खटाउने तयारी
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार प्राविधिकहरुको टोली परिचालन गरि जिल्लाभर पहिरोबाट भएको क्षतिको एकिन बिवरण संकलन गर्ने तयारी भैरहेको छ । विषयत कार्यालयका प्राविधिक परिचालन गरी क्षतिको मुल्यांकन गरी सोही अनुसार राहातको व्यवस्था गरिने उनले बताए । प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्र नजिकै उपयुक्त स्थानको भु पहिचान पनि गर्नेछ ।

गौरीशंकर गाउँपालिका बढि प्रभावित

अविरल बर्षासँगै आएको पहिरोले जिल्लाको गौरीशंकर गाउँपालिकामा बढि मानविय तथा भौतिक क्षति पुगेको छ । गारीशंकर गाउँपालिका–१ र २ मा गएको पहिरोमा परी वेपत्ता भएका दुई जनालाई अझै फेला पार्न सकिएको छैन । त्यहाँका १० वटा घरहरु पहिरोले क्षतिग्रस्त छन् भने एक दर्जन घर परिवार उच्च जोखिममा छन् । पहिरोका कारण विस्थापित ती घरपरिवारलाई निलकण्ठेश्वर मावि र यार्सा प्राविमा स्थानान्तरण गरिएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्वर ३, ४, ६, ७ र ८ नम्वर वडाका दर्जनौ परिवारपनि पहिरोका कारण विस्थापित भएका छन् । वडा नम्वर ६ का एक दर्जन र ७ का एक दर्जन परिवार पहिरोको उच्च जोखिमसँगै विस्थापित भएका हुन् । वडा नम्वर ३ र ४ का दर्जनौं घर परिवार पनि पहिरोको जोखिमका कारण विस्थापित हुने अवस्थामा छन् ।

पहिरोका कारण गौरीशंकर गाउँपालिका वडा नम्वर ६ र ७ मा निर्माणाधिन जलविद्युत आयोजनाहरुको काम पनि बन्द भएको छ ।
वडा नम्वर ८ छेसाखारेमा गएको पहिरोमा परी घाईते गोरीमाया मगरको काठमाण्डौँमा उपचार भैरहेको छ । उनको उपचारका लागि नेकपा गौरीशंकर गाउँ कमिटिले १ लाख ८४ हजार १ सय १० रुपैयाँ संकलन गरी हस्तान्तरण गरेको अध्यक्ष जंग गुरुङले जानकारी दिए ।

VIEWS: 256