दोलखामा ढुंगे ईट्टा उद्योगका लागि प्राबिधिक जनशक्ति तयार गरिँदै
७ साउन, दोलखा । दोलखामा ढुंगे ईट्टा उत्पादनका लागि पुर्वाधार तयारीको काम अघि बढाईएको छ । ढुंगाबाट बन्ने ईट्टा उत्पादनका लागि घरेलु तथा साना उद्योग महासंघ दोलखाले प्रबिधिक जनशक्ति तयार गर्दैछ ।
महासंघले पहिलो पटक भिमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाका १३ जनालाई ईट्टा साईजको ढुंगा बनाउने प्राविधिक तालिम दिएको छ । एक हप्तासम्म सदरमुकाम चरिकोटमा सञ्चालित तालिममा ११ पुरुष र २ जना महिला सहभागि थिए । अन्य स्थानीय तहमा पनि प्राविधिक जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गर्ने महासंघको तयारी छ ।
महासंघ दोलखाका अध्यक्ष जंग गुरुङले दक्ष प्राविधिक जनशक्ति तयार गरेर आर्थिक वर्ष २०७६।७७ मै उद्योग स्थापनाको तयारी भैरहेको जानकारी दिए । उनका अनुसार सामुहिक ढंगले उद्योग संचालन गर्न आउने समुहलाई निश्चित अनुदान प्रदान गर्ने पहल भैरहेको छ । ढुंगा काट्ने एउटा मेसिनको मुल्य ५ लाख रुपैयाँ बरावर पर्दछ ।
ईट्टा साईजको ढुंगा बनाउने तालिमको समापन कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर भरत केसिले यसबाट रोजगारी सिर्जना गरेर पर्याप्त आम्दानी गर्न सकिन भन्दै उद्योग खोल्नेलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताए । घरेलु तथा साना उद्योग महासंघ ३ नम्बर प्रदेशका सचिव सुदर्शन कार्कीले पनि ईट्टा आकारको ढुंगाको बजार राम्रो रहेको भन्दै उद्योग सुरु गर्न आग्रह गरे ।
कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघ दोलखाका प्रथम उपाध्यक्ष सनत थापा, धु्रव बस्नेत लगाएतले मन्तव्य राखेका थिए । ढुंगाको ईट्टा दिगो हुने भएकाले यसको बजारीकरणमा खासै समस्या नरहेको सरोकारवालाहरु बताउँछन् ।