कालिञ्चोक गाउँपालिकाको कालिनाग मावि नमुना विद्यालय

Tuesday, July 16th, 2019 |

३१ असार, दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका—८ स्थित कालिनाग माध्यामिक विद्यालय नमुना विद्यालयका लागि छनौटमा परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका उत्कृष्ट विद्यालयहरुमध्ये कालिनाग माध्यामिक विद्यालयलाई पनि छनौट गरेको हो । देशभरका ६९ वटा जिल्लाका स्थानीय तहबाट आएका आवेदनहरुमध्येबाट मन्त्रालयले कालिनाग माविलाई पनि नमुनाको सुचीमा राखेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका निर्देशक गेहनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार यो वर्ष देशभरका १ सय वटा विद्यालयलाई नमुना विद्यालयको लागि छनौट गरिएको छ । आगामी आर्थिक वर्षमा सबै स्थानीय तहमा एक नमुना विद्यालय सञ्चालन गर्नेगरी कार्यक्रम अघि बढाईने गौतमले बताए ।

मन्त्रालयले हालसम्म २ सय २२ वटा विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा छनौट गरिसकेको छ । देशभरबाट १ हजार विद्यालयहरुलाई नमुना बनाउने मन्त्रालयको लक्ष्य छ । सरकारले विद्यार्थीहरुको सिकाई उपलब्धि उच्च बनाउन, विद्यालयको भौतिक तथा शैक्षिक पक्षको विकास गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्नसक्ने विद्यालयको रुपमा विकास गर्न नमुना विद्यालयको अवधारणा अघि सारेको हो ।

नमुना विद्यालयमा भौतिक पुर्वाधारदेखि पठनपाठनको व्यवस्थापन समेत फरक ढंगले गरिनेछ । शिक्षण भवन तथा कक्षाकोठा, प्रशासनिक भवन, आवासीय सुविधा, पुस्तकालय, प्रयोगशाला, विद्यालय संग्रहालय, प्राथमिक उपचार तथा परामर्श कक्ष, व्यवसायिक कार्यशाला कक्ष, खानेपानी सरसफाई तथा स्वच्छता सुविधा, चमेना गृह, अडिटोरियम हल, घेरावार तथा बगैचा, खेलमैदान, बैकल्पिक विद्युतीय व्यवस्था नमुना विद्यालयमा गरिनेछ ।

VIEWS: 371