आरक्षण बचाऔं आन्दोलन : मसाल जुलुसदेखि नेपाल बन्दसम्म
- काठमाडौं । आरक्षण बचाऔं आन्दोलनले विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले आरक्षण बचाउनुपर्छ भन्दै सिठी जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
सो आन्दोलन आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रबो तर्फबाट आन्दोलनको कार्यक्रम तय गरेको जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले बताए ।
संविधानको मूल मर्म र समानुपातिक समावेसी सिद्धान्तविपरित प्रकाशित गरेको लोकसेवा आयोगको विज्ञापन रद्द गराउँदै आरक्षण सुनिश्चित गराउनुपर्ने उनीहरुको माग छ ।
आरक्षण बचाऔं आन्दोलनको तर्फबाट यसअघि पनि विभिन्न चरणमा विरोध प्रदर्शनका कार्यक्रम भइसकेका छन् । यसपटकको आन्दोलनको कार्यक्रम असार २८ गतेबाट सुरुवात गर्ने उपाध्यक्ष छन्त्यालले बताए ।
असार २८ काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरुमा प्रचार प्रसार र पर्चा वितरण, असार २९ गते काठमाडौं उपत्यका लगायतका देशका विभिन्न ठाउँमा मसाल जुलुस, ३० गते सिट्ठी जुलुस र ३१ गते काठमाडौंको माइतीघर मण्डलामा जुलुससहित विशाल जनप्रदर्शनका साथै देशैभर प्रदर्शन गर्ने बताएका छन् ।
त्यस्तै, साउन २ गते र १० गते नेपाल बन्दको आव्हान गरेका छन् । ती कार्यक्रम सकिएपछि थप आन्दोलनका कार्यक्रम जारी राख्ने आरक्षण बचाऔं आन्दोलनले जनाएको छ ।