सोतीबजारका अग्निपिडित परिवारले पाए राहात

Wednesday, July 3rd, 2019 |

१८ असार, दोलखा । दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थित सोतीबजारका अग्निपिडितहरुले आज थप राहात पाएका छन् । सोती बजारमा बुधवार आयोजित एक कार्यक्रमकाबीच जिल्लामा संकलित राहात रकम अग्निपिडितहरुलाई हस्तान्तरण गरिएको छ ।

अग्निपिडित चित्र प्रसाद खरेल, दिपक आचार्य, नारायण शिवाकोटी, लक्ष्मी सेढाई र घनश्याम उप्रेतीलाई जनही ४० हजारका दरले राहात प्रदान गरिएको छ । यसैगरी अग्निपिडित शिव शिवाकोटीले ३० हजार, गणेश शिवाकाटी, बाशु खरेल, कृष्ण बहाुदर खड्का, विनोद आचार्य, र गोपाल शिवाकोटीले जनहि १९ हजार रुपैँयाका दरले राहात प्राप्त गरेका छन् ।

उनीहरुलाई गाउँपालिका प्रमुख विन कुमार थामी र उपप्रमुख कालिका पाठकले जम्मा ३ लाख २५ हजार रुपैयाँ बरावरको राहात हस्तान्तरण गरे । कार्यक्रममा राहात संकलन समितिका संयोजक गोपाल पाण्डेले अग्निपिडितहरुको पिडामा थोरै भएपनि मल्हामपट्टि लगाउने उदेश्यले राहात संकलन गरिएको र पिडाको बेला सहयोग गर्नु मानविय कर्तव्य भएकोले यस्तो कार्यमा सबै जुट्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा दोलखाका नेताहरु रोहित खड्का, रिता रिमाल, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, मोहन पाठक लगाएतको उपस्थिति थियो ।सोतीका अग्निपिडितहरुलाई यसअघि काठमाण्डौँमा संकलित ४ लाख ४४ हजार रुपैयाँ र गाउँपालिकाले राहात सामाग्री वितरण गसिकेको छ ।

गत जेठ १२ गते आगलागी हुँदा सोती बजारका आधा दर्जन बढि घरटहरा जलेर ध्वस्त भएको थियो भने एक करोड भन्दा बढिको धनमाल नष्ट भएको थियो ।

VIEWS: 659