समाजवादी पार्टीका दुई केन्द्रिय नेता र दिपक मनाङ्गे नेकपा प्रवेश गर्दै
१८ असार, काठमाडौं । एकिकरणपछि बनेको समाजवादी पार्टी नेपालका दुई जना केन्द्रिय नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । प्रभावशाली नेताद्धय देवेन्द्र पराजुली र कल्पना धमला नेकपा प्रवेश गर्न लागेका हुन् । उनीहरु बिहीबार नेकपा प्रवेश गर्दैछन् ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने विषयमा उनीहरुले असहमति जनाएका थिए । नेतृ धमलाले नेकपा प्रवेश गर्न लागेको स्वीकार गर्दै हिजोको माओवादीको मूल नेतृत्व नेकपामा रहेकाले त्यहाँ आवद्ध हुन लागेको बताइन् ।
यसैविच गण्डकी प्रदेश सांसद दीपक मनाङे पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलाई भोली गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपनि फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका थिए । तर सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएपछि सांसदको रुपमा सपथ लिएका हुन ।