कालिञ्चोकका जनप्रतिनिधि र कर्मचारी जुट्दै

Tuesday, July 2nd, 2019 |

१७ असार, दोलखा । दोलखा कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट निर्माण तथा कार्यान्वयनमा एकजुट देखिन थालेका छन् । गाउँपालिका धेरै बिवादमा तानिएको र जनप्रतिनिधि तथा कर्मचारीबीच असमझदारी रहेको चर्चा भैरहेका बेला उनीहरुबीच कामकारबाहीमा समन्वय र एकरुपता देखिन थालेको हो ।

केन्द्रको बिवाद कायमै रहेपनि विकासे काम र अन्य मामिलामा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुँदा गाउँपालिकाको कामकारबाही परिणाममुखि हुने अपेक्षा सेवाग्राही नागरिकले गरेका छन् । गाउँपालिका प्रमुख विन कुमार थामीले गाउँपालिको समृद्धि र जनचाहना सम्वोधनका लागि सबैजना एकठाउँमा उभिनुको विकल्प नरहेको बताए । “कुनैपनि बहानामा जनताको चाहना विपरित जाने कसैलाई छुट छैन, उनले भने, विकासको सपना पुरा गर्न एकजुट हुनुको विकल्प छैन ।”

गम्भिर विषयहरुमा बहस हुनेभएपनि अनावश्यक विवादका कारण कालिञ्चोक गाउँपालिकाको विकास र समृद्धि प्रभावित हुन नदिने उपप्रमुख कालिका पाठकको भनाई छ । विगतको जस्तो समस्या र तिक्तताको अवस्था अव नआउने उनको विस्वास छ । प्रमुख र उपप्रमुखबीच सम्वादहिनताको अबस्था रहेकोमा पछिल्लो समय दुबैजना एउटै मञ्चहरुमा देखिने गरेका छन् ।

गाउँपालिका स्रोतका अनुसार आर्थिक वर्ष २०७५।७६ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनदेखि २०७६।७७ को बजेट निर्माणमा समेत जनप्रतिनिधि र कर्मचारीले गम्भिर गृहकार्य गरेका छन् । आगामी आर्थिक वर्षमा बजेट विनियोजनको परम्परागत शैली अन्त्य गरेर वैज्ञानिक विधिका आधारमा प्राथमिकता निर्धारण गरेर योजना छनौट गरिएको एक अधिकारीले बताए ।

गाउँपालिकाका प्रमुख ईन्जिनियर नारायण शिवाकोटीले गाउँपालिकाको योजना र विकासका सन्दर्भमा जनप्रतिनिधि र कर्मचारीबीच पछिल्लो समय निरन्तर समन्वय र सम्वाद हुने गरेको जानकारी दिए । “जनशक्ति अभावकाबीच गाउँपालिकाको समग्र योजना निर्माण र कार्यान्वयनमा कर्मचारीको तर्फबाट सकारात्मक रुपमा सहयोग गर्ने वातावरण बनेको छ, उनले भने ।” कर्मचारी समायोजनपछि शिवाकोटी केही महिना अघि कालिञ्चोक गाउँपालिका हाजिर भएका हुन् ।

कालिञ्चोक गाउँपालिकामा जनप्रतिनिधिबीच नै तिक्तता रहेको, प्रमुख प्रशासकिय अधिकृत नटिक्ने, अन्य कर्मचारीपनि नियमित हाजिर नहुने, जनप्रतिनिधि र कर्मचारीबीच एकले अर्काको अस्तित्व स्वीकार नगर्ने जस्ता समस्या र गुनासो आउने गरेको थियो ।

जनप्रतिनिधिबीचको द्धन्द्ध र कर्मचारीको असहयोगका कारण सार्वजानिक सेवा र विकास निर्माण निष्प्रभावी बन्ने खतरा बढिरहेका बेला कालिञ्चोक गाउँपालिकामा सुधारको संकेत देखिनुलाई सार्वसाधरण नागरिकले सकारात्मक ठानेका छन् ।

VIEWS: 537