रेशम चौधरीलाई अस्पतालको बेडमा पनि नेल
६ असार, काठमाण्डौँ । राजपाका निलम्वित सांसद रेशम चौधरीलाई उपचारकै क्रममा पनि खुट्टामा नेल बाँधिएको छ । स्वास्थ्यमा समस्या आएपछि चौधरीलाई काठमाण्डौं स्थित बीर अस्पताल भर्ना गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका चौधरी फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई अस्पताल भर्ना गरिएको हो ।
अस्पतालमा उपचाररत हुँदा पनि प्रहरीले चौधरीमाथि नेल र हत्कडी सहित कडा सुरक्षाभित्र राखेको छ । प्रहरी स्रोतका अनुसार चौधरी भाग्न नसकून् भनेर नेल लगाई राखिएको हो । पारिवारिक स्रोतका अनुसार दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको छ । फोक्सो र ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ ।
चौधरीलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने सल्लाहा चिकित्सकले दिएका छन् । संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ ।
टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।