यसरी गरियो छात्रवृत्ती प्रदान देखि सामाजिक व्यक्तित्वहरुको भव्य अभिनन्दन (तस्विर सहित)

Wednesday, May 22nd, 2019 |

४ जेठ, दोलखा । दोलखामा एउटा सामाजिक संस्थाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण देखि कलाकार तथा सामाजिक व्यक्तित्वहरुको भव्य अभिनन्दन गरेको छ । प्रेम–पुर्ण–प्रताप फाउण्डेशन, नेपालले आफ्नो प्रथम साधारण सभाको अवसरमा आयोजना गरेको भव्य समारोहका बीच उनीहरुलाई सम्मान तथा अभिनन्दन गरिएको हो ।

बरिष्ठ कलाकारहरुको अभिनन्दन
कार्यक्रममा दोलखामा जन्मिएर कलाको क्षेत्रमा योगदान दिने अग्रज श्रष्टा तथा बरिष्ठ कलाकारहरु लोक सम्राट कुमार बस्नेत, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अग्रज लोक गायक हरि बहादुर राउत र वरिष्ठ कलाकार पुष्कर गुरुङ लगाएतलाई भव्य अभिनन्दन गरियो ।

कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका सांसद विशाल खड्का र विशेष अतिथि जिल्ला समनवय समिति दोलखाका प्रमुख डवल पाण्डे लगाएतले अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।

नेपाली माईकल ज्याक्सन भनेर चिनिने रेवन सापकोटालाई प्रोत्साहन स्वरुप नगद दश हजार तथा मायाको चिनो र दृष्टिविहिन गायिका सुस्मिता राईलाई एक थान कम्प्युटर सेट प्रदान गरिएको छ ।

सामाजिक व्यक्तित्वहरुको सम्मान
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा प्रकाश श्रेष्ठ, धृतराज श्रेष्ठ र किरण थामी रहेका छन् । प्रकाश श्रेष्ठले कला, संस्कृति र सामाजिक कार्यमा महत्वपुर्ण कार्य गरेका छन् । प्रसिद्ध ऐतिहाँसिक दोलखा बजारमा रोकिएको मछिन्द्रनाथको रथ यात्रा उनकै पहलमा सुचारु भएको थियो । यस्तै धृतराज श्रेष्ठ शैक्षिक तथा सामाजिक अभियानमा सक्रिय छन भने नेपाल थामी समाजकी पुर्व महासचिव समेत रहेकी किरण थामीले पिछडिएको समुदायको हक, हित र अधिकारको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएकी छिन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथि लगाएतका अतिथिहरुले सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरे ।

यसैविच कार्यक्रममा दोलखाका तीन उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पनि सम्मान गरिएको छ । व्यवस्थापन र शैक्षिक गुणस्तरको क्षेत्रमा उत्कृष्ट र अब्वल रहेको भन्दै फाउण्डेशनले ती विद्यालयहरुलाई सम्मान गरेको हो । जिल्लाको बैतेश्वर गाउँपालिका ४ स्थित हनुमन्तेश्वर मावी, वैतेश्वर ८ स्थित क्षेत्रावती मावि र भिमेश्वर नगरपालिका २ स्थित भिम मावि सम्मानित भएका हुन् । हनुमन्तेश्वर माविका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठ, क्षेत्रावती माविका प्रधानाध्यापक पदम जिरेल र भिम माविका प्रधानाध्यापक सुन्दर खड्कालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा दोलखाली चेली (हाल अमेरिका) फाउण्डेशनकी संरक्षक तथा समाजसेवी पद्मा प्रधानको तर्फबाट विभिन्न विद्यालयका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ भने अतिविपन्न, वेसाहारा, असाहाय, जेहेन्दार विद्यार्थीहरुको शैक्षिक भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले ५ लाख रुपैयाँ बरावरको अक्षयकोष समेत घोषणा गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले फाउण्डेशन र संस्थाकी संरक्षक तथा समाजसेवी पद्मा प्रधानले सुरु गरेको सामाजिक कार्यको खुलेर प्रशंसा गर्दै थप सफलता र निरन्तरताको कामना गरे । कार्यक्रममा प्रमुख अतिथि ३ नम्वर प्रदेश सांसद विशाल खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का, ईश्वर नारायण मानन्धर, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरन्जिवी मास्के, जिल्ला अध्यक्ष जिवन लामा, राकेश श्रेष्ठ, विराजमान श्रेष्ठ, दिपक अधिकारी, योगराज दाहाल, रिना श्रेष्ठ, शान्ति श्रेष्ठ, देवी गुरुङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

दोलखाली चेली (हाल अमेरिका) पद्मा प्रधानको पहलमा फाउण्डेशनको स्थापना भएको हो । नेपालकै प्रथम न्याधिवक्ता स्वर्गिय पुर्ण नारायण प्रधान, समाजसेवीद्धय प्रताप नारायण प्रधान र प्रेममैया प्रधानको स्मृतिमा फाउण्डेशन स्थापना भएको संस्थाका अध्यक्ष प्रधानले जानकारी दिए । उनका अनुसार फाउण्डेशनले विशेषगरी शिक्षा क्षेत्र र अन्य परोपकार तथा कल्याणकारी बिविध सामाजिक क्षेत्रमा काम गर्नेछ ।

कार्यक्रमका तस्विरहरु हेर्नुहोस्

VIEWS: 633